Market Closed

वाणिज्य बैंकहरुले कमाए ३२ अर्ब ७५ करोड नाफा, वृद्धि अनुपात हेर्नुहोस्

12 Feb,2020
  • profit_grow_2_12_2020_6_01_57.jpg
इशारा कोइराला 
 
काठमाडौं : चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा औसतमा वाणिज्य बैंकहरुको सुस्त हिसाबले नाफा वृद्धि गरेका छन् । केहीले आकर्षक नाफा कमाए पनि औसतमा हेर्दा भने वृद्धिदर सुस्त देखिएको हो । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले पुस मसान्तसम्ममा समग्रमा ३२ अर्ब ७५ करोड ४९ लाख १८ हजार रुपैयाँ नाफा कमाएका छन् । यो गत वर्षको भन्दा ८.७५% ले बढी हो । गत वर्ष यसैअवधिमा वाणिज्य बैंकहरुले ३० अर्ब ११ करोड ८४ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएका थिए । 
 
खुद ब्याज आम्दानी सुस्त भएपछि नाफा पनि अपेक्षा अनुसार विस्तार हुन नसकेको हो । तथापि, नाफा बढ्दो क्रममा रहेको छ । भारीमात्रामा पुँजी वृद्धि गरेका बैंकहरुले क्रमशः नाफा बढाउँदै लैजान सक्नुलाई भने सकारात्मक रुपमा लिनुपर्ने हुन्छ । निक्षेपको लागत बढी हुँदा फराकिलो हिसाबले खुद ब्याज आम्दानी वृद्धि गर्न बैंकहरुलाई सकस परेको हो । नाफामा उल्लेख्य सुधार नहुँदा अधिकांशको प्रतिसेयर आम्दानीमा पनि प्रभाव परेको देखिन्छ ।

केहीको प्रतिसेयर आम्दानी राम्रो देखिए पनि औसतमा मध्यमखालको रहेको छ । बैंकले निक्षेप संकलन र कर्जा प्रवाहमा पनि सुधार गरिरहेका छन् । यसैबीच यहाँ हामीले २७ वटा वाणिज्य बैंकको खुद नाफा, चुक्ता पुँजी, जगेडा कोष, खुद ब्याज आम्दानी र प्रतिसेयर आम्दानीको तुलनात्मक अध्ययन गरेका छौं । हेरौं कुन बैंकको अवस्था कस्तो छ :
 
१९ बैंकको नाफा बढ्यो
 
पुस मसान्तसम्म आइपुग्दा १९ वटा बैंकले खुद नाफा बढाएका छन् । ८ को भने नाफा घटेको छ । यसअवधिमा सबैभन्दा धेरै नाफा बढाउनेमा एनएमबि बैंक रहेको छ । यसको नाफा ४७.४०% ले बढेर १ अर्ब ६३ करोड ६० लाख ७६ हजार रुपैयाँ पुगेको हो ।




यता, सबैभन्दा धेरै नाफा कमाउनेमा भने राष्ट्रिय वाणिज्य बैंक परेको छ । यसको नाफा २ अर्ब २० करोड ९४ लाख ८२ हजार रुपैयाँ छ । नबिल र एनआइसी एसिया बैंकको नाफा पनि २ अर्बभन्दा माथि छ । १ अर्ब रुपैयाँ भन्दा बढी नाफा कमाउनेमा कृषि विकास, स्टान्डर्ड चार्टर्ड, नेपाल एसबीआई, सिद्धार्थ, एभरेष्ट, सानिमा, नेपाल, ग्लोबल आइएमई, प्रभु, एनएमबि, प्राइम कमर्सियल, हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक रहेका छन् । 
 
१९ बैंकको चुक्ता पुँजी बढ्यो
 
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा १९ बैंकको चुक्ता पुँजी बढेको छ । यद्दपि, हिमालयन, स्टान्डर्ड चार्टर्ड, नेपाल एसबीआई, नेपाल र नेपाल बंगलादेश बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई बोनस सेयर वितरण गरिसकेका छन् । तर वित्तीय विवरणमा यसलाई पुँजीकरण भने गरेका छैनन् । यता, सिभिल र मेगा बैंकले गत वर्षको नाफाबाट नगद लाभांश मात्रै दिएकाले चुक्ता पुँजी बढ्न सकेन ।




राष्ट्रिय वाणिज्य बैंकको पुँजी पनि गत वर्षकै यथावत रहेको छ । यसै बर्ष जनता बैंकलाई मर्जर गरेको ग्लोबल आइएमई बैंकको पुँजी सबैभन्दा धेरै रहेको छ । ग्लोबलको पुँजी ८४.०४% ले बढेर १८ अर्ब ९७ करोड ५८ लाख ७९ हजार रुपैयाँ पुगेको छ । 
 
बैंकहरुको जगेडा कोष घट्नुमा यस्तो छ कारण
 
पुस मसान्तसम्म आइपुग्दा २२ बैंकको जगेडा कोष घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणमा एनएफआरएस प्रणाली अनुसार रिटेन्ड अर्निङ र रिजर्भ कोष बेग्लाबेग्लै शीर्षकमा राखिएकाले धेरैको रिजर्भ घटेको देखिएको हो । तथापि, दुवैलाई जोड्दा रिजर्भमा पनि सुधार भएको पाउन सकिन्छ ।




अघिल्लो वर्षको दोस्रो त्रैमासमा भने पुरानो ढाँचाको वित्तीय विवरणमा भने ‘रिजभ एन्ड सरपल्स’ एउटै शीर्षकमा समावेश गरिन्थ्यो । यसर्थ, तुलनात्मक अध्ययन गर्दा यस पक्षमा पनि ध्यान दिनुपर्ने हुन्छ । यता, ५ बैंकको जगेडा कोष भने बढेको छ । 
 
२० बैंकको खुद ब्याज आम्दानी बढ्यो
 
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा २० बैंकको खुद ब्याज आम्दानी बढेको छ । ७ बैंकको ब्याज आम्दानी भने घटेको छ । सबैभन्दा धेरै खुद ब्याज आम्दानी बढ्नेमा ग्लोबल आइएमई बैंक रहेको छ । यसको ब्याज आम्दानी ४९.०३% ले बढेर ३ अर्ब ५४ करोड ८६ लाख ९८ हजार रुपैयाँ पुगेको छ ।




यता, सबैभन्दा धेरै खुद ब्याज आम्दानी कमाउनेमा एनआइसी एसिया बैंक रहेको छ । यसको ब्याज आम्दानी ३ अर्ब ६४ करोड ७४ लाख ५९ हजार रुपैयाँ पुगेको छ । नबिल, कृषि विकास र नेपाल इन्भेष्टमेन्ट बैंकको खुद ब्याज आम्दानी पनि ३ अर्ब माथि रहेको छ । 
 
१४ बैंकको प्रतिसेयर आम्दानी बढ्यो
 
पुस मसान्तसम्ममा १४ वाणिज्य बैंकको प्रतिसेयर आम्दानी बढेको छ । १२ बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ । राष्ट्रिय वाणिज्य बैंकको भने प्रतिसेयर आम्दानी समावेश छैन । सबैभन्दा धेरै प्रतिसेयर आम्दानी बढ्नेमा हिमालयन बैंक रहेको छ । यसको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ८८ पैसाले बढेर ४० रुपैयाँ ९० पैसा पुगेको छ ।




सार्वजनिक वित्तीय विवरण अनुसार सबैभन्दा धेरै प्रतिसेयर आम्दानी हुनेमा भने नबिल बैंकको परेको छ । यसको प्रतिसेयर आम्दानी ४५ रुपैयाँ ३२ पैसा रहेको छ । हिमालयन र एनआइसी एसिया बैंकको प्रतिसेयर आम्दानी पनि ४० रुपैयाँभन्दा माथि छ ।

Post Your Comment