Market Closed

अहिलेसम्मकै ठूलो आइपीओ ल्याउन बिक्री प्रबन्धक नियुक्त

16 Jan,2020
  • PHOTO_1_16_2020_7_53_40.jpg
नेपाली पैसा 
 
काठमाडौं : अहिलेसम्मकै ठूलो आइपीओ ल्याउन बिक्री प्रबन्धक तोकिएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रुपैयाँको ८ करोड कित्ता आइपीओ जारी गर्न एनआइबीएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको हो । यससँगै अब आइपीओ जारी गर्ने प्रक्रिया अघि बढ्नेछ । आइपीओ निष्कासन सम्झौतापत्रमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तर्फबाट नायव महाप्रबन्धक बिनयनाथ न्यौपाने र एनआइबीएल एस क्यापिटलका नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरे । प्रतिकित्ता १०० रुपैयाँका दरले आइपीओ खुला हुनेछ । 
 
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको अधिकृत पुँजी ४० अर्व, जारी पुँजी २० अर्व तथा चुक्ता पुँजी १२ अर्व रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी २० अर्व रुपैयाँ पुग्नेछ । यस बैंकले २०७५ माघ २८ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको पूर्वाधार विकास बैंकका रुपमा कार्य गर्न स्वीकृती प्राप्त गरेको थियो । यसले २०७५ फागुन २२ गतेदेखि बैंकिङ कारोबार शुुभारम्भ गरेको हो । यसको केन्द्रीय कार्यालय काठमाण्डौ, नयाँ बानेश्वरमा रहेको छ । 
 
मुलुकभित्र तथा मुलुक बाहिरबाट दीर्घकालीन स्रोत संकलन गरी देशको पूर्वाधार विकासका परियोजनाहरुमा लगानी गर्ने उद्देश्यले यो बैंक स्थापना गरिएको हो ।  बैंकले जलविद्युत, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार क्षेत्रका उपयुक्त परियोजनाहरुमा लगानी  गर्दै जाने योजना बनाएको छ । 
 
यस बैंकमा सरकारको १०%, बिमा कम्पनीहरुको १८.९७% वाणिज्य बैंकहरुको २०.८९%, निजी तथा सार्वजनिक कम्पनीहरुको ५.१५%, व्यक्तिगत ४.९९% तथा सर्वसाधारणको ४०% स्वामित्व रहनेछ । अनुज अग्रवाल अध्यक्ष रहेको यस बैंकका अन्य सञ्चालकहरुमा मुकुन्दप्रसाद पौड्याल, चन्द्रप्रसाद ढकाल, लालमणि जोशी, नुमनाथ पौड्याल छन् । प्रमुख कार्यकारी अधिकृतको रुपमा अनिल ज्ञवालीले जिम्मेवारी सम्हालेका छन् ।
 
 
 
 
 
 
 

Post Your Comment