Market Closed

एनएमबिको २५% बोनस सेयर पारित, अब ट्याब्लेट बैंकिङ सेवा पनि

03 Dec,2017
  • nmb_12_3_2017_1_00_23.jpg
नेपाली पैसा
 
काठमाडौं : एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको ५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले २५% बोनस सेयर र कर तिर्न १४ लाख ८२ हजार ८९५ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । यो बोनस सेयर दिइसकेपछि कम्पनीको चुक्ता पुँजी ११ करोड २७ लाखबाट वृद्धि भएर १४ करोड ८ लाख ७५ हजार रुपैयाँ पुग्नेछ । सभामा पेश गरिएका मुख्य एजेन्डा सबै पास भएका छन् । साधारण सभाबाटै ट्याब्लेट बैंकिङ सेवाको सुरुवात घोषणा पनि गरिएको छ । संस्थाका ग्राहक र कर्मचारीहरुलाई छिटो छरितो रुपमा बैठक सञ्चालन गर्नका लागि ट्याब्लेट बैंकिङ सेवाको सुरुवात गरिएको कम्पनीले जनाएको छ । यो सेवाको उद्घाटन कम्पनीका अध्यक्ष उत्तम भ्लोनले गरेका थिए । यस सेवाबाट कर्मचारी र ग्राहकबीच सम्बन्ध बढाउन र व्यवसाय प्रवद्र्धन गर्नसमेत सहयोग पुग्ने एनएमबिको भनाई छ ।

सभामा एनएमबि बैंकका नायब महाप्रबन्धक प्रदिप प्रधान र एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेको पनि उपस्थिति थियो । पोखरा लेखनाथ महानगरपालिका वडा नं. २९, हेम्जामा केन्द्रीय कार्यालय रहेको यस माइक्रोफाइनान्सले हाल देशका ३८ वटा जिल्लाहरुमा ६७ वटा शाखा कार्यालयहरु सञ्चालन गरिरहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा एनएमबि माइक्रोफाइनान्सले ८८ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अवधिमा कम्पनीले ४६ करोड ३ लाख ७७ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जा लगानी १ अर्ब ९५ करोड ५० लाख ७ हजार रुपैयाँ पुर्याएको छ । यसको प्रतिसेयर आम्दानी २५ रुपैयाँ १४ पैसा र प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ४० पैसा छ ।
 
 
 
 

Post Your Comment