टेलिकमले दिने भयो ५५% नगद, पुस ३० मा एजीएम बुक क्लोज कहिले ?

24 Dec,2017
  • ntc__12_24_2017_12_08_08.jpg
नेपाली पैसा 
 
काठमाडौं : सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को दशौं वार्षिक साधारण सभा पुस ३० गते हुने भएको छ । सभामा टेलिकमले ५५% नगद लाभांश दिने प्रस्ताव लैजानेछ । सम्भवतः यो प्रस्तावलाई साधारण सभाले अनुमोदन गर्नेछ । साधारण सभाले अनुमोदन गरेपछि मात्र सेयरधनीलाई वितरण प्रक्रिया अघि बढ्छ । सरकारी स्वामित्वको यो कम्पनीले वर्षेनि लगानीकर्तालाई आकर्षक नगद लाभांश दिंदै आएको छ । गत वर्ष पनि दूरसञ्चारले ५१% नगद लाभांश दिएको थियो । यता, कम्पनीले भारी मात्रामा नगद दिए पनि बोनस सेयर भने अहिलेसम्म दिएको छैन । चुक्ता पुँजी बढाउन आवश्यक नभएको अनि थप काम गर्न पुँजी जुटाउने आवश्यकता पनि नदेखिएकाले दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) नगद लाभांशमा मात्र केन्द्रित हुँदै आएको छ । साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०७३–७४ को वार्षिक प्रतिवेदन सहित सोही अवधिसम्मको वासलात, नाफा–नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि पेश गरिदैछ । त्यस्तै चालु आर्थिक वर्ष २०७४–७५ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि छ । सभा प्रयोजनका लागि कम्पनीले पुस १२ देखि ३० गतेसम्म बुक क्लोज गर्नेछ । यसआधारमा पुस ११ गतेसम्म मात्र कायम सेयरधनीले लाभांश पाउन सक्नेछन् । दूरसञ्चार कम्पनीको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ । यो कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ अर्ब ५ करोड ६५ लाख ३८ हजार ७४ रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी आम्दानी १०८ रुपैयाँ १७ पैसा रहेको दूरसञ्चारको प्रतिसेयर नेटवर्थ ६४३ रुपैयाँ ८४ पैसा छ । 
 
 
 
 

Post Your Comment