Market Closed

टेलिकमको ५५% नगद लाभांश पुस १४ सम्म कायम सेयरधनीले मात्र पाउने

24 Dec,2018
  • Nepal-door-sanchar-company-ltd_8_13_2018_12_49_58.jpg
नेपाली पैसा 
 
काठमाडौं : सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले एघारौं वार्षिक साधारण सभा पुस ३० गते बोलाएको छ । टेलिकमले ५५% नगद लाभांश दिंदैछ । यो लाभांश प्रस्ताव पारित गर्ने एजीएमको प्रमुख एजेन्डा रहनेछ । साधारण सभाले लाभांश प्रस्ताव पारित गरेपछि सेयरधनीलाई वितरण प्रक्रिया अघि बढ्छ ।

सरकारी स्वामित्वको यो कम्पनीले वर्षेनि लगानीकर्तालाई आकर्षक नगद लाभांश दिंदै आएको छ । गत वर्ष पनि दूरसञ्चारले ५५% नै नगद लाभांश दिएको थियो । यता, कम्पनीले भारी मात्रामा नगद दिए पनि बोनस सेयर भने अहिलेसम्म दिएको छैन । 
 
चुक्ता पुँजी बढाउन आवश्यक नभएको अनि थप काम गर्न तत्काल नयाँ पुँजी जुटाउने आवश्यकता पनि नदेखिएकाले नेपाल टेलिकम नगद लाभांशमा मात्र केन्द्रित हुँदै आएको छ । साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा दिउसो ३ बजे सुरु हुनेछ ।
 
सभामा आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन सहित सोही अवधिसम्मको वासलात, नाफा–नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि पेश गरिंदैछ । चालु आर्थिक वर्ष २०७५–७६ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि छ । 
 
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १५ देखि ३० गतेसम्म बुक क्लोज गर्नेछ । पुस १४ गतेसम्म मात्र कायम सेयरधनीले लाभांश पाउन सक्नेछन् । टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ अर्ब ४९ करोड ६ लाख ४४ हजार ५२१ रुपैयाँ खुद नाफा कमाएको छ ।

यसको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ । टेलिकमको रिजर्भ कोषमा ८७ अर्ब ९८ करोड ९३ लाख २५ हजार ७१५ रुपैयाँ छ । यसको प्रतिसेयर आम्दानी ११९ रुपैयाँ ७५ पैसा र प्रतिसेयर नेटवर्थ ६८६ रुपैयाँ ६० पैसा छ ।  
 
 
 

Post Your Comment