प्राइम र कन्काईको बुधबार विशेष साधारण सभा, एक्विजिसन प्रस्ताव अनुमोदन गरिंदै

05 Aug,2019
  • sgm_img_8_5_2019_12_29_45.jpg
नेपाली पैसा 
 
काठमाडौं : प्राइम बैंक र कन्काई विकास बैंकले बुधबार (साउन २२ गते) विशेष साधारण सभा बोलाएका छन् । प्राइमले कन्काईलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गर्न दुवै बैंकले साधारण सभा बोलाएका हुन् । प्राइमले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ बजे विशेष साधारण सभा डकेको छ । त्यस्तै, कन्काईले सोही समयमा गोर्खा डिपार्टमेन्ट स्टोर, झापामा विशेष साधारण सभा गर्दैछ । नेपाल स्टक एक्सचेञ्जले कन्काई विकास बैंकको सेयर कारोबार रोक्का गरिसकेको छ । 
 
प्राइम बैंकले एक्वायर गर्ने सहमतिपत्रमा हस्ताक्षर भएपछि जेठ २३ गतेदेखि कन्काईको सेयर कारोबार रोक्का गरिएको हो । प्राइमले सभा गर्न साउन १४ गतेदेखि बुक क्लोज गरेको छ । साउन १३ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन पाउनेछन् । अब एक्विजिसन प्रक्रिया सम्पन्न भएपछि कन्काईका लगानीकर्ताले प्राइम बैंकको सेयर पाउनेछन् । 
 
प्राइमले कति स्वाप रेसियोमा कन्काईलाई एक्वायर गर्न लागेको भनेर आधिकारिक जानकारी गराइएको छैन । सम्पति तथा दायित्व मूल्यांकन (डीडीए) प्रतिवेदनका आधारमा सेयर स्वाप रेसियो तय हुनेछ । यद्दपि, अनौपचारिक रुपमा कन्काईको १०० सेयर बराबर प्राइमको ७१ कित्ता दिइने तयारी भइरहेको बताइएको छ ।
 
यसअघि प्राइमले ओम डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने सम्झौता भएपनि पछि भाँडिएको थियो । सम्झौता भाँडिएपछि नेपाल राष्ट्र बैंकले दुबै बैंकलाई ३ महिना भित्र अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर गर्न निर्देशन दिएको थियो । हाल ओम डेभलपमेन्ट बैंक भने एनएमबि बैंकसँग मर्जर प्रक्रियामा रहेको छ ।

प्राइमको विशेष साधारण सभा सम्बन्धी सूचना यहाँबाट हेर्नुहोस् ।

कन्काईको विशेष साधारण सभा सम्बन्धी सूचना यहाँबाट हेर्नुहोस् ।
 

Post Your Comment