Market Closed

प्रभु बैंकले १ अर्बको ऋणपत्र ल्याउने, धितोपत्र बोर्डबाट पायो अनुमति

04 Oct,2019
  • debenu=ture_10_4_2019_3_33_39.jpg
नेपाली पैसा
 
काठमाडौं : प्रभु बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकलाई प्रतिइकाई १ हजार रुपैयाँ दरमा १० लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डले अनुमति दिएको हो । यसमध्ये ४ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी ६ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । यस ऋणपत्रमा वार्षिक १०.२५% ब्याजदर पाइनेछ ।

बैंकले १० वर्ष अवधिको ‘१०.२५% प्रभु बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ । यो ऋणपत्रलाई केयर रेटिङ एजेन्सी इक्रा नेपालले मध्यम कर्जा जोखिम जनाउने एलबीबीबी रेटिङ दिएको छ । 
 
पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी जुटाउन ऋणपत्र जारी गर्ने क्रम बढेको छ । धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्काशित इकाईको ४०% ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्ने हुन्छ । पछिल्लो धेरै जसो वाणिज्य बैंकहरुले लगानी विस्तार गर्न ऋणपत्रलाई माध्यम बनाएका छन् । कतिपयले दोहोर्याएर पनि ऋणपत्र जारी गरिरहेको देखिन्छ ।
 
तर सर्वसाधारण लगानीकर्ता भने आकर्षित हुन सकेका छैनन् । ऋणपत्रलाई सेयर बजारसँग तुलना गरेर हेर्ने लगानीकर्ता पनि धेरै हुने गरेका छन् । सेयर बजारमा जोखिमसँगै लाभको मात्रामा पनि धेरै छ । सजिलै दोस्रो बजारमा किनबेच गर्न सकिन्छ । तर हामीकहाँ दोस्रो बजारमार्फत ऋणपत्र कारोबार गर्ने चलन प्रभावकारी भएको छैन । 
 
यसमा बैंक निक्षेप जस्तै निश्चित प्रतिशत ब्याजदर तोकिने भएकाले पनि आम लगानीकर्ताले चासो नदेखाएका हुन् । यसअघि ऋणपत्र जारी गरेका र गरिहेका बैंकहरुको पनि बिक्न धौधौ परेको छ । नबिकेपछि सबैले समय थपेका छन् । 
 
 
 
 
 
 

Post Your Comment