Market Closed

जीवन बिमा कम्पनीहरुले किन गर्न सकिरहेका छैनन् साधारण सभा ?

21 Sep,2020
  • Life-Insurance_9_21_2020_9_07_07.jpg
इशारा कोइराला 
 
काठमाडौं : हाल सञ्चालनमा रहेका १९ जीवन बिमा कम्पनीमध्ये १८ वटाले अघिल्लो आर्थिक वर्ष (२०७५–७६) कै वार्षिक साधारण सभा गर्न बाँकी रहेको छ । रिलायन्स लाइफ इन्सुरेन्सले भने अघिल्लो वर्षको साधारण सभा सम्पन्न गरिसकेको छ । यसले केही समय पहिले मात्रै आइपीओ जारी गरेको छ । यता, प्रभु लाइफ इन्सुरेन्सले असोज २९ गते वार्षिक साधारण सभा डाकेको छ । आर्थिक वर्ष सकिएको २ वर्षभन्दा बढी बितिसक्दा पनि जीवन बिमा कम्पनीहरुले अघिल्लो वर्षको वार्षिक साधारण सभा गर्न सकेका छैन् ।

यसरी लामो समयसम्म साधारण सभा नगर्दा लगानीकर्ताहरु वार्षिक वित्तीय विवरणका बारेमा जानकारी पाउनबाट वञ्चित भएका छन् । यसका अलावा लाभांश घोषणा र वितरणमा पनि ढिलाई भइरहेको छ । नियामकीय प्रावधान अनुसार सामान्यतयः आर्थिक वर्ष सकिएको ६ महिनाभित्र वार्षिक साधारण सभा सम्पन्न गरिसक्नुपर्छ । तर, बिमा समितिले जीवन बिमा कम्पनीलाई वित्तीय विवरण पारित गर्नुअघि एक्चुरियल भ्यालुएसन गर्नु्पर्ने भएकाले चैत मसान्तसम्ममा साधारण सभा गर्ने छुट दिएको छ ।

तथापि, समितिले दिएको यो सुविधा अवधि सकिएको पनि लामो समय व्यतीत सक्दा पनि कम्पनीहरुले साधारण सभा किन गर्न सकेका छैनन् त ? बिमा कम्पनीहरुले वित्तीय विवरण तयार पार्नु अघि एक्चुरियल भ्यालुयसन गर्नुपर्ने भए पनि नेपालमा पर्याप्त मात्रामा एक्चुरीहरु नहुँदा बिमा कम्पनीहरुले भारतमा गएर एक्चुरियल भ्यालुएसन गर्नु परिरहेको छ । यसैलाई देखाएर बिमा कम्पनीहरुले साधारण सभामा ढिलाई गरेका हुन् । 
 
यसबाहेक, कोरोना संक्रमणका कारण पनि कम्पनीहरुको साधारण सभामा ढिलाई भइरहेको जानकारी गराएका नियामक बिमा समितिले बताएको छ । बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने, ‘नयाँ प्रणालीका कारण (एक्चुलियल भ्यालुएसन) केही कठिनाई भएको होला, अब केही समयमै सबै बिमा कम्पनीहरुले साधारण सभा गर्छन् ।’ साथै, कोरोनाका कारण पनि कम्पनीहरुको साधारण सभामा ढिलाई भएको छ, उनले भने ।  
 
१५ कम्पनीको वित्तीय विवरण बिमा समितिबाट स्वीकृत


 
बिमा समितिले दिएको जानकारी अनुसार १५ कम्पनीको वित्तीय विवरण बिमा समितिबाट पारित भएको छ । अझै एसियन लाइफ, गुराँस लाइफ र राष्ट्रिय बिमा संस्थानको वित्तीय विवरण भने अनुमोदन हुन बाँकी रहेको समितिले जानकारी दिएको छ । जसअनुसार १५ बिमा जीवन कम्पनीहरुलाई वार्षिक साधारण सभागर्ने बाटो खुलेको छ । 
 
नयाँ कम्पनीको आइपीओ निष्कासनमा ढिलाई
 
साधारण सभा समयमा सम्पन्न हुन नसक्दा पूरा तथा सूचीकृत अधिकांश जीवन बिमा कम्पनीका सेयरधनीले लाभांश पाउन सकेका छैनन भने, नयाँ जीवन कम्पनीहरुको आइपीओ निष्कासनमा पनि ढिलाई भएको छ । बिमा समितिको र्निदेशिका अनुसार नयाँ कम्पनी स्थापना भएको एक आर्थिक वर्ष पूरा गरी साधारण सभा गरेपछिमात्रै आइपीओ निष्कासनका लागि बाटो खुला हुन्छ । धेरैजसो नयाँ जीवन बिमा कम्पनीको स्थापना आर्थिक वर्ष २०७३–७४ मा भए पनि कारोबार भने २०७५–७६ बाट मात्रै सुरु भएको हो ।

त्यसैले २०७५–७६ को वार्षिक साधारण सभामार्फत वित्तीय विवरण सार्वजनिक गरेपछि मात्र आइपीओ निष्कासन गर्न पाउनेछन् । तथापि, अधिकांश कम्पनीले नियामक नेपाल धितोपत्र बोर्डमा आइपीओ जारीका  लागि अनुमति मागिसकेका छन् । नयाँ जीवन बिमा कम्पनीहरुमध्ये रिलायन्स लाइफले समयमै साधारण सभा गर्न सकेकाले प्राथमिक सेयर निष्कासन पनि गरिसक्यो । यो कम्पनी नेप्सेमा सूचीकृत भएर कारोबार समेत भइरहेको अवस्था छ ।



बाँकी ७ जीवन बिमा कम्पनीले पनि अघिल्लो आर्थिक वर्ष २०७५–७६ को वित्तीय विवरण स्वीकृत गराइसकेकाले अब छिट्टै वार्षिक साधारण सभा डाक्न सक्नेछन् । यसैबीच प्रभु लाइफले असोज २९ गते सभा बोलाई सकेको पनि छ । यता, महालक्ष्मी लाइफ भने अघिल्लो वर्ष मात्रै सञ्चालनमा आएकाले गत आर्थिक वर्ष २०७६–७७ को लेखा परीक्षणसहित साधारण सभा गरेपछि मात्रै आइपीओ जारी गर्न पाउनेछ । 
 

Post Your Comment