Market Closed

राष्ट्रिय बिमा संस्थानको खुद नाफा ३२६.२१% ले बढ्यो

14 Feb,2020
  • profit_2_14_2020_11_45_27.png
नेपाली पैसा 
 
काठमाडौं : राष्ट्रिय बिमा संस्थानले आर्थिक वर्ष २०७६–७७ को दोस्रो त्रैमासमा ३ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा ३२६.२१% ले धेरै हो । गत वर्ष यसले ८२ लाख ९२ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । पुस मसान्तसम्म संस्थानले खुद बिमा शुल्क आम्दानी पनि २९.२२% ले वृद्धि गरी ५ अर्ब ६९ करोड रुपैयाँ पुर्याएको छ । गत वर्ष यसले ४ अर्ब ४० करोड ५६ लाख रुपैयाँ मात्र बिमा शुल्क आर्जन गरेको थियो ।
 
नागरिक लगानी कोषले प्रदान गर्दै आएको राष्ट्र सेवक कर्मचारी (निजामति कर्मचारी) को बिमा सेवा यस आर्थिक वर्षदेखि राष्ट्रिय बिमा संस्थानमार्फत सुरु भएको छ । सरकारी कर्मचारीको बिमा संस्थानमार्फत हुन थालेकाले खुद बिमा शुल्क बढेको हो । यसले नाफामा उल्लेख्य सुधार ल्याउन सहयोग पुग्ने देखिन्छ । राष्ट्र सेवक कर्मचारीहरुबाट संस्थानले ३ अर्ब ८ करोड रुपैयाँ बिमा शुल्क संकलन गरेको छ ।

यसअघि यो काम नागरिक लगानी कोषले गर्दै आएको थियो । संस्थानले यो त्रैमाससम्म १ अर्ब ३६ करोड ४४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । यस संस्थाले जीवन बिमा कोष पनि १९ अर्ब २० करोडबाट बढोत्तरी गरेर २५ अर्ब ९६ करोड पुर्याएको छ ।

हाल राष्ट्रिय बिमा संस्थानको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ छ । यसको रिजर्भ कोषमा २६ करोड २१ लाख रुपैयाँ छ । यसको सर्वसाधारणमा सेयर जारी नभएकाले नेप्सेमा सूचीकृत छैन । सेयर कारोबार हुँदैन ।

राष्ट्रिय बिमा संस्थानको वित्तीय विवरण ।  
 

Post Your Comment