Market Closed

सानिमा बैंकले फेरि जगायो आशा, सानिमाको यो तथ्यांकमा तपाईको के छ विश्लेषण ?

29 Oct,2017
  • Sanima-bank-Ltd_10_29_2017_10_26_53.jpg
नेपाली पैसा
 
काठमाडौं :  चुक्ता पुँजी भारीमात्रामा वृद्धि भइरहँदा पनि सानिमा बैंकले आमलगानीकर्ताको आशा जगाउने काम गरेको छ । २ अर्ब हाराहारीमा चुक्ता पुँजी भएका बैंक ८ अर्ब पुर्याउँदा बेस्सरी थला पर्ने हुन् कि भन्ने आमलगानीकर्ताको त्रासलाई सानिमा गलत साबित गरिदिएको छ । धेरै चुक्ता पुँजी बढ्दा प्रतिसेयर आम्दानीमा केही ह्रास आए पनि सानिमाले समग्रमा खुद नाफा बढाउन सफल भएको छ । बैंकको मुख्य कमाई मापन गर्ने ब्याज आम्दानी पनि अपेक्षा अनुसार बढाउन बैंक सफल भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको यो बैंकको रिपोर्टले चुक्ता पुँजी वृद्धिसँगै बैंकहरुको पुँजी आधार बलियो हुँदै गएको छ । त्यसै आधारमा क्रमशः नाफा पनि बढ्न थालेको विश्लेषण गर्न सकिन्छ । सानिमा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३४ करोड ४४ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट प्रस्तुत गरेको छ । बैंकको गत वर्षको यही त्रैमासको तुलनामा २६.८१% ले खुद नाफा वृद्धि गरेको हो । गत वर्ष बैंकले २७ करोड १६ लाख २२ हजार रुपैयाँमात्र खुद नाफा कमाएको थियो । सानिमाले यो त्रैमासमा खुद ब्याज आम्दानी पनि ११.५६% ले बढोत्तरी गरेर ५९ करोड ४५ लाख ७८ हजार रुपैयाँ पुर्याएको छ । गत वर्षको यही त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ५३ करोड २९ लाख ३८ हजार रुपैयाँमात्र रहेको थियो ।

निक्षेप रकम ४८ अर्बबाट ६४ अर्ब १३ करोड २१ लाख ६ हजार रुपैयाँ पुर्याएको सानिमाले ५७ अर्ब २८ करोड ८५ लाख ३२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा भने थोरैले बढेर ०.१४% हुन पुगेको छ । गत वर्ष बैंकको खराब कर्जा ०.५% मात्र रहेको थियो । चुक्ता पुँजी ५ अर्बबाट ८ अर्ब १२ लाख ५५ हजार रुपैयाँ पुर्याएको सानिमाको रिजर्भ कोषमा भने १ अर्ब ४० करोड ४० लाख ३५ हजार रुपैयाँ मात्र रहेको छ । चुक्ता पुँजीको आधारमा बैंकले रिजर्भ कोष बढाउनुपर्ने चुनौती देखिन्छ । सम्भावित जोखिमका लागि बैंकले ९ करोड ६२ लाख २४ हजार रुपैयाँ छुट्याएको छ । यता, राइट ब्याक भने १३ लाख ६८ हजार रुपैयाँ छ । एक वर्षको अवधिमा बैंकको कस्ट अफ फन्ड ३.७७% बाट बढेर ७.४३% पुगेको छ । यता सानिमाको प्रतिसेयर आम्दानीमा भने ३ रुपैयाँ ४७ पैसाको गिरावट आएको छ । गत वर्ष यही त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ १९ पैसा ( वार्षिक) रहेकोमा यसपालि १६ रुपैयाँ ७२ पैसामात्र छ । बैंकको पुँजी बढे अनुसार नाफा बढ्न नसक्दा त्यसको प्रभाव प्रतिसेयर आम्दानीमा परेको देखिन्छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ पनि थोरैले घटेर ११७ रुपैयाँ ५५ पैसा कायम भएको छ । गत वर्ष बैंकको प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ २४ पैसा थियो ।
 
 

Post Your Comment