Market Closed

सानिमाको ऋणपत्र भर्ने आज अन्तिम दिन, बिक्ला २ लाख ४५ हजार कित्ता ?

31 Dec,2018
  • debenture_12_26_2018_4_39_40.jpg
नेपाली पैसा
 
काठमाडौं : सानिमा बैंकको ऋणपत्रमा आवेदन दिने सोमबार (पुस १६ गते) अन्तिम दिन हो । बैंकले गत कात्तिक ३० गतेदेखि १०% ब्याजदर भएको ‘१०% सानिमा डिबेन्चर–२०८५’ बिक्री खुला गरेको हो । सानिमाले प्रतिकित्ता १ हजार रुपैयाँ दरले २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र बिक्रीमा ल्याएको हो । जसमध्ये ३ लाख ८० हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

२० हजार कित्ता सामूहिक लगानी कोषले पाएका छन् । बैंकले बाँकी १६ लाख कित्ता व्यक्तिगत रुपमा (कम्पनीलाई) बिक्री गर्नेछ । यसमा आइतबार सम्म १ लाख ३४ हजार ९१२ कित्ताका लागि मात्र आवेदन परेको छ । बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केटका मर्चेन्ट बैंकिङ प्रमुख सुभाष बस्नेतले आइतबार सम्ममा २ हजार ७६६ जनाले १ लाख ३४ हजार ९१२ कित्ताका लागि आवेदन दिएको नेपाली पैसालाई बताए । 
 
यसआधारमा अझै २ लाख ४५ हजार ८८ कित्तमा आवेदन पर्न बाँकी रहेको छ । यो तथ्यांकले सानिमाको ऋणपत्र सबै बिक्री हुन कठिन हुने देखिएको छ । यसअघि बैंकले पहिलो चरणमा नबिकेपछि धितोपत्र बोर्डको स्वीकृति लिएर पुस १६ गतेसम्म समय थप गरेको थियो । तर थपिएको समयभित्र पनि ऋणपत्र किन्न लगानीकर्ताले त्यति चासो दिएनन् । 
 
पछिल्लो समय बैंकहरुले ऋणपत्रमा भन्दा बढी ब्याज दिने मुद्दति निक्षेप योजना सार्वजनिक गरेकाले पनि यसमा खासै आकर्षण बढ्न नसकेको अनुमान गरिएको छ । त्यसो, त बैंकहरुले फेरि ब्याजदर घटाएर १०% भन्दा तल ल्याइसकेका छन् । यसबाहेक अधिकांश लगानीकर्ताले म्याद सकिने बेलामा मात्र आवेदन दिने प्रवृत्ति पनि रहँदै आएको छ ।
 
यसमा सर्वसाधारणले न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख ८० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् । यो ऋणपत्रको अवधि १० वर्ष हुनेछ । लगानीकर्ताले ऋणपत्रका लागि बिक्री प्रबन्धक काठमाडौं क्यापिटल कमलादी, काठमाडौं तथा सानिमा बैंकको सम्पूर्ण शाखाबाट आवेदन दिन पाउनेछन् ।
 
रेटिङ एजेन्सी इक्रा नेपालले सानिमाको यो ऋणपत्रलाई न्यून कर्जा जोखिम जनाउने ‘इक्रा एनपी एल ए माइनस’ रेटिङ दिएको छ । यस ऋणपत्रमा वार्षिक १०% ब्याज पाइनेछ । आर्थिक वर्षको प्रत्येक ६ महिनाको अन्त्यपछि ब्याज भुक्तानी हुनेछ । सानिमाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५१ करोड ८८ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
 

Post Your Comment