सहयोगीको साधारण सभा पुस १५ मा, सेयर कारोबार किन रोकियो ?

28 Nov,2017
  • Sahayogi-bikas-bank-Ltd_11_28_2017_1_09_01.jpg
नेपाली पैसा
 
काठमाडौं : सहयोगी विकास बैंकले पुस १५ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभामा बैंकले २०% बोनस सेयर र ४.५०% नगद लाभांश दिने प्रस्ताव गर्ने भएको छ । बैंकले हाल कायम चुक्ता पुँजी ४२ करोड ४७ लाख २३ हजार ५०० रुपैयाँको २०% का दरले हुने ८ करोड ४९ लाख ४४ हजार ७०० रुपैयाँ बराबरको बोनस दिन लागेको हो । यसआधारमा, बोनसपछि बैंकको चुक्ता पुँजी ५० करोड ९६ लाख ६८ हजार २०० रुपैयाँ पुग्नेछ । सहयोगीले मंसिर २८ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बैंकको लाभांश पाउन मंसिर २७ गतेभित्र सेयरधनी बनिसक्नुपर्नेछ । सभा पुस १५ गते बैंकको केन्द्रीय कार्यालय जनकपुरधाममा दिउँसो १ बजे सुरु हुनेछ ।
 
यता, मंगलबार नेप्सेले सहयोगीको सेयर कारोबारमा भने रोक लगाएको छ । सञ्चालक समितिको निर्णय ढिलो गरी नेप्सेलाई जानकारी गराएपछि मंगलबार सेयर कारोबारमा रोक लगाइएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए । सञ्चालक समितिले मंसिर ९ गते नै साधारण सभा गर्ने निर्णय गरे पनि नेप्सेलाई मंगलबारमात्र जानकारी गराएको छ । कारोबार रोक्का हुनुमा साधारण सम्बन्धी विवरणमा त्रुटी देखिनु अर्को कारण रहेको प्रवक्ता पराजुलीको भनाइ छ । सहयोगीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड १ लाख ८६ हजार रुपैयाँ नोक्सान व्यहोरेको छ ।
 

Post Your Comment