Market Closed

एसबीआई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

28 Nov,2019
  • Nepal-SBI-bank-Lt_1_2_8_13_2018_10_44_28.jpg
नेपाली पैसा 

काठमाडौं : नेपाल एसबीआई बैंकको १६.८४% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका हो । बैंकले मंसिर २९ गते हुने साधारण सभाको लागि मंसिर १३ गतेदेखि बुक क्लोज गर्दैछ । तसर्थ, मंसिर १२ गते (आज) सम्म सेयर खरिद गर्ने लगानीकर्ता उक्त प्रस्तावित लाभांशको हकदार हुनेछन् ।

बैंकले मंसिर २९ गतेसम्म बुक क्लोज गर्नेछ । २९ गते हुने साधारण सभामा बैंकले १६.८४% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । बैंकले गत वर्षको नाफाबाट ६% बोनस सेयर र १०.८४% नगद लाभांश वितरण गर्न लागेको हो । एसबीआईले ५० करोड ६९ लाख ५५ हजार रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ ।

९१ करोड ५८ लाख ९८ हजार ७०० रुपैयाँ नगद वितरणमा खर्च गर्नेछ । साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिसन गर्नु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा सभामा पेश गर्नेछ ।

बोनसपछि अधिकृत पुँजी र चुक्ता पुँजी वृद्धि हुने हुँदा सोही बमोजिम नियमावली संसोधन गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदन र सोही अवधि सम्मको नाफा नोक्सान सम्बन्धी प्रस्ताव पनि पेश हुनेछ ।

आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब ४४ करोड ९२ लाख ५० हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी ८ अर्ब ९५ करोड ६२ लाख ५ हजार रुपैयाँ पुग्नेछ ।

 
 

Post Your Comment