Market Closed

सिद्धार्थको ऋणपत्र भर्ने आज अन्तिम दिन, आइतबारसम्म कति पर्यो आवेदन ?

07 Jan,2019
  • Siddhartha-bank-Ltd_8_6_2018_11_01_36.jpg
नेपाली पैसा
 
काठमाडौं : सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने सोमबार (पुस २३ गते) अन्तिम दिन हो । कार्यालय समय भित्र यसमा आवेदन दिन सकिनेछ । यो ऋणपत्रमा आइतबार (पुस २२ गते) सम्म ५० हजार ५६५ कित्ताका लागि मात्र आवेदन परेको छ । बिक्री प्रबन्धक एनआइबीएल एसका अनुसार आइतबार सम्ममा ९३२ जनाले ५० हजार ५६५  कित्ताका लागि आवेदन दिएका छन् । 
 
अझै ३ लाख ९९ हजार ४३५ कित्तमा आवेदन पर्न बाँकी रहेको देखिन्छ । सिद्धार्थ बैंकले मंसिर २३ गतेदेखि प्रतिकित्ता १ हजार रुपैयाँ दरले २ अर्ब २५ करोड रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये ४ लाख ५० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

२२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी १७ लाख ७७ हजार ५०० कित्ता व्यक्तिगत (कम्पनी तथा संस्थालाई) बिक्री गरिनेछ । १०.५% ब्याजदर हुने यस ऋणपत्रको अवधि ७ वर्ष हुनेछ । ‘१०.५% सिद्धार्थ डिबेन्चर–२०८२’ नाममा सिद्धार्थले ऋणपत्र जारी गरेको हो ।
 
यसअघि सानिमा बैंकको ऋणपत्रमा माग अनुसार आवेदन परेको थिएन । पहिलो चरणको समयभित्र आवेदन नपरेपछि बैंकले धितोपत्र बोर्डको अनुमति लिएर १५ दिनको समय थप गरेको थियो । तर, त्यस समयमा पनि आवश्यक आवेदन परेन । 
 
सिद्धार्थको ऋणपत्रमा सर्वसाधारणले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन् । धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन पाइनेछ ।

इक्रा नेपालले सिद्धार्थको यो ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने रेटिङ दिएको छ । बैंकले लगानी विस्तार गर्न ऋणपत्रको सहायता लिएको हो । पुँजी वृद्धिपछि आक्रामक लगानी विस्तारमा उत्रिएका बैंकहरु आवश्यकता अनुसार निक्षेप संकलन नभएपछि ऋणपत्रतिर आकर्षित हुन थालेका छन् ।  
 

Post Your Comment