सिद्धार्थ बैंकको ऋणपत्र किन बिकेन ? ७४ हजार २०० कित्तामा मात्रै पर्यो आवेदन

08 Jan,2019
  • Siddhartha-bank-Ltd_8_6_2018_11_01_36.jpg
नेपाली पैसा
 
काठमाडौं : सिद्धार्थ बैंकको ऋणपत्रमा ७४ हजार २०० कित्ताका लागि मात्र आवेदन परेको छ । बिक्री प्रबन्धक एनआइबीएल एसका अनुसार सर्वसाधारण लगानीकर्ता तर्फ ९८८ जनाले ७४ हजार २००  कित्ताका लागि आवेदन दिएका छन् । यसआधारमा सर्वसाधारण समूहमा खुला गरिएको ऋणपत्रमध्ये ३ लाख ७५ हजार ८०० कित्ता बिक्री हुन सकेन । यो ऋणपत्र भर्ने म्याद सोमबार सकिएको छ । 
 
बैंकले मंसिर २३ गतेदेखि प्रतिकित्ता १ हजार रुपैयाँ दरले २ अर्ब २५ करोड रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये ४ लाख ५० हजार कित्ता सर्वसाधारणका लागि र २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको थियो ।

बाँकी १७ लाख ७७ हजार ५०० कित्ता व्यक्तिगत (कम्पनी तथा संस्थालाई) बिक्री खुला गरिएको हो । संस्थाहरुको पनि बिक्न बाँकी रहेको छ । १०.५% ब्याजदर हुने यस ऋणपत्रको अवधि ७ वर्ष हुनेछ । ‘१०.५% सिद्धार्थ डिबेन्चर–२०८२’ नाममा सिद्धार्थले ऋणपत्र जारी गरेको हो । यसअघि सानिमा बैंकले बिक्री खुला गरेको ऋणपत्रमा पनि माग अनुसार आवेदन परेको थिएन ।

इक्रा नेपालले सिद्धार्थको यो ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने रेटिङ दिएको छ । बैंकले लगानी विस्तार गर्न ऋणपत्रको सहायता लिएको हो । पुँजी वृद्धिपछि आक्रामक लगानी विस्तारमा उत्रिएका बैंकहरु आवश्यकता अनुसार निक्षेप संकलन नभएपछि ऋणपत्रतिर आकर्षित हुन थालेका छन् ।

यसअघि एनआइसी एसिया र सानिमा बैंक लगायतले पनि लगानी विस्तार गर्न ऋणपत्रकै बाटोमा लागिसकेका छन् । पछिल्लो समय बैंकहरुले ऋणपत्र भन्दा बढी ब्याजदर मुद्दति निक्षेपमा दिएकाले लगानीकर्ता यसमा आकर्षित नभएको अनुमान गरिएको छ । 
 

Post Your Comment