Market Closed

सिर्जना फाइनान्सको ६०% हकप्रद असोज १७ देखि खुल्दै, अब यस्तो हुनेछ पुँजी

16 Sep,2019
  • SHRIJANA-FINANCE_8_12_2019_7_47_56.jpg
नेपाली पैसा
 
काठमाडौं : सिर्जना फाइनान्सको ६०% हकप्रद सेयर असोज १७ गतेबाट खुल्ने भएको छ  । यस फाइनान्सले हाल कायम चुक्ता पुँजी ४६ करोड ८ लाख १५ हजार रुपैयाँको ६०% हकप्रद सेयर बिक्री गर्न लागेको हो । यस हकप्रद सेयरमा कार्तिक २१ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १०ः६ अनुपातमा कुल २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । 
 
सिर्जनाले हकप्रद सेयर निष्कासनका लागि असोज ६ गते बुक क्लोज गर्ने भएको छ । यसआधारमा असोज ५ गतेसम्म कायम रहने सेयरधनीले मात्र उक्त हकप्रद दाबी गर्न सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले यस हकप्रदलाई औसत आधार जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ ।
 
सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंबाट यस हकप्रदमा आवेदन दिन सकिनेछ ।  सिर्जना फाइनान्सका सम्पूर्ण कार्यालयहरुबाट पनि फारम पाइनेछ । यस्तै, सनराइज बैंकका शाखा कार्यालयहरु विराटनगर, पोखरा, वीरगञ्ज, बुटवल र नारायणगढ शाखाबाट पनि आवेदन दिन सकिनेछ । सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट हकप्रद भर्न पाइने पनि कम्पनीले जनाएको छ । हकप्रद बिक्रीबाट प्राप्त हुने रकममध्ये तरलता कायम गर्न राष्ट्र बैंकमा कायम गरिने मौज्दात, लगानी र कर्जा प्रवाहमा खर्च हुनेछ ।
 
हाल सिर्जनाको चुक्ता पुँजी ४६ करोड ८ लाख १५ हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि पुँजी ७३ करोड ७३ लाख रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले १५ करोड ७३ लाख ३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ३४ रुपैयाँ १४ पैसा रहेको सिर्जनाको प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ३९ पैसा छ ।

सिर्जना फाइनान्सको हकप्रद आह्वानपत्र हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Post Your Comment