Market Closed

शिव श्री हाइड्रोपावरको शुक्रबारदेखि १४ करोड ७६ लाख रुपैयाँको आइपीओ आउने, कसले भर्ने ?

10 Jan,2019
  • ipos_7_4_2_1_10_2019_5_03_25.jpg
नेपाली पैसा  
 
काठमाडौं : शिव श्री हाइड्रोपावरले आयोजना प्रभावित स्थानीयलाई शुक्रबार (पुस २७ गते) देखि आइपीओ खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीयलाई १४ करोड ७६ लाख ४० हजार रुपैयाँ बराबरको १४ लाख ७६ हजार ४०० कित्ता (१०%) सेयर बिक्री खुला गर्ने भएको हो । 
 
आयोजना प्रभावितलाई सेयर जारी गरेपछि कम्पनीले फेरि सर्वसाधारण र कर्मचारीलाई गरी कुल २२ लाख १४ हजार ६०० (१५% कित्ता सेयर आइपीओ निष्कासन गर्नेछ । स्थानीयको आइपीओमा सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका, बाह्रविसे नगरपालिका, त्रिपुरा गाउँपालिका र सुनकोशी गाउँपालिकाका आयोजना प्रभावित बासिन्दाले मात्र आवेदन दिन सक्नेछन् । 
 
प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यको यो आइपीओ न्यूनतम ५० कित्तादेखि अधिकतम ७ हजार ३८० कित्तासम्म भर्न सकिनेछ । यसमा माघ ११ गतेसम्म आवेदन दिन पाइनेछ । लगानीकर्ताले सिन्धुपाल्चोक जिल्लामा रहेका सिन्धु विकास बैंक, नेपाल बंगलादेश बैंक, सिभिल बैंक, एनआइसी एसिया र हिमालयन बैंकको शाखाबाट आवेदन दिन सक्नेछन् ।
 
यसैगरी, शिव श्री हाइड्रोपावरको भोटेकोशी गाँउपाललिका कार्यालयबाट पनि सेयर भर्न पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले शिव श्रीको आइपीओलाई ग्रेड ४ रेटिङ दिएको छ । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब १० करोड ७३ लाख रुपैयाँ छ । स्थानीयलाई आइपीओ बिक्री गरेपछि चुक्ता पुँजी १ अर्ब २५ करोड ४९ लाख ४० हजार रुपैयाँ पुग्नेछ । 
 
कम्पनीले हाल सिन्धुपाल्चोक जिल्लामा २२.२ मेगावाट क्षमताको अपर चाकु, ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको निर्माण कार्य ९६% पूरा भइसकेको छ । हाल अन्तिम चरणको निर्माण कार्य भइरहेको कम्पनीको भनाई छ ।
 
सुरुमा आयोजना निर्माणका लागि ३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएकोमा भूकम्प र जुरेमा गएको पहिरोको कारण निर्माण कार्य विलम्ब हुँदा लागत बढेर ४ अर्ब ३ करोड रुपैयाँ पुगेको कम्पनीको भनाई छ । 
 
यसको प्रतिमेगावाट लागत पनि १३ करोड ६० लाख रुपैयाँबाट बढेर १८ करोड २० लाख रुपैयाँ पुगेको छ । शिव श्री हाइड्रोपावरले आयोजना निर्माणका लागि ऋणबाट ६४% र सेयर पुँजीबाट ३६% रकम संकलन गरेको बताएको छ । 
 
               
 

Post Your Comment