चिलिमे हाइड्रोपावर सबैभन्दा तगडा, अन्य जलविद्युत कम्पनीको अवस्था कस्तो छ ?

12 May,2018
  • reports_5_12_2018_7_57_12.jpg
सोभित थपलिया
 
काठमाडौं : जलविद्युत कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । अहिले नेपाल स्टक एक्सचेन्जमा १८ वटा जलविद्युत कम्पनी सूचीकृत छन् । यीमध्ये ८ वटाको वित्तीय विवरण सार्वजनिक भइसकेको छ । प्रत्यक्ष नियामक निकाय बिहीन रहेको हाइड्रोपावर क्षेत्रलाई पनि बढी भन्दा बढी नाफा गरी लगानीकर्ता खुशी पार्ने चुनौती रहेको छ ।
 
तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका ८ वटा जलविद्युत कम्पनीमध्ये सबैभन्दा बढी नाफा कमाउनेमा चिलिमे हाइड्रोपावर कम्पनी रहेको छ । चिलिमेले ६५ करोड ८५ लाख १७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस्तै, सानिमा माई हाइड्रोपावर दोस्रो स्थानमा रहेको छ । सानिमाको खुद नाफा २० करोड २० लाख ५ हजार ५३० रुपैयाँ छ । यता, अरुण कावेली पावरले भने यो अवधिमा १० लाख २४ हजार ६६३ रुपैयाँ नोक्सानी व्यहोरेको छ ।
 
तेस्रो त्रैमासमा आइपुग्दा सबैभन्दा बढी चुक्ता पुँजी हुने जलविद्युत कम्पनीमा चिलिमे हाइड्रोपावर कम्पनी रहेको छ । चिलिमेको ३ अर्ब ९६ करोड ५१ लाख १३ हजार रुपैयाँ रहेको छ । यस्तै, सानिमा माइको चुक्ता पुँजी भने २ अर्ब ११ करोड रुपैयाँ रहेको छ । सबैभन्दा कम चुक्ता पुँजी भने बरुण हाइड्रोपावर कम्पनीको २५ करोड ५१ लाख ५० हजार रुपैयाँ मात्र रहेको छ ।


 
तेस्रो त्रैमासमा बिजुली बेचेर धेरै कमाउने कम्पनीमा पनि चिलिमे हाइड्रोपावर नै देखिएको छ । चिलिमेले बिजुली बेचेर मात्र ८० करोड ४५ लाख ९२ हजार रुपैयाँ आम्दानी गरेको छ । तेस्रो स्थानमा रहेको सानिमा माइको ५६ करोड ६९ लाख १३ हजार ३६१ रुपैयाँ रहेको छ । बरुण हाइड्रोपावर कम्पनीको भने ६ करोड ६१ लाख ५० हजार १९१ रुपैयाँ रहेको छ । 
 
यता, सानिमा माईको सबैभन्दा धेरै २३ रुपैयाँ ३० पैसा प्रतिसेयर आम्दानी रहेको देखाएको छ । तर खुद नाफा र पुँजीका आधारमा यसको वास्तविक प्रतिसेयर आम्दानी भने १२ रुपैयाँ ७६ पैसा (वार्षिक) मात्र रहेको छ । चिलिमेको प्रतिसेयर आम्दानी २२ रुपैयाँ १४ पैसा रहेको छ भने अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सबै भन्दा कम ३ रुपैयाँ ४२ पैसा छ ।
 
यता, प्रतिसेयर नेटवर्थ बढी हुनेमा चिलिमे हाइड्रोपावर कम्पनी रहेको छ । चिलिमेको प्रतिसेयर नेटवर्थ २१८ रुपैयाँ ६० पैसा रहेको छ । सानिमाको भने १२६ रुपैयाँ २० पैसा रहेको छ । १०० रुपैयाँ भन्दा कम प्रतिसेयर नेटवर्थ हुने कम्पनीमा अरुण कावेली पावर र नेसनल हाइड्रोपावर कम्पनी रहेका छन् । अरुण कावेलीको ९९ रुपैयाँ र नेसनलको ६८ रुपैयाँ ५ पैसा रहेको छ ।

Post Your Comment