Market Closed

सानिमा माइ हाइड्रोपावरको कस्तो छ अवस्था ? हेरौं, आधारभूत अनि प्राविधिक विश्लेषण

15 Nov,2020
  • sanima_hydro_8_16_2019_7_18_40.jpg

नेपाली पैसा 
 
आधारभूत विश्लेषण 
 
नेपालमा जलविद्युत् आयोजना विकासको उद्देश्यका साथ सानिमा माइ हाइड्रोपावर लिमिटेडको स्थापना भएको हो । प्रारम्भमा निजी कम्पनीको रूपमा २०६५ साल भदौ २६ गते देखि सञ्चालन भए पनि पछि २०६८ चैत्र ३ गते यसलाई पब्लिक कम्पनीमा रूपान्तरण गरियो ।

यस कम्पनीले हाल इलाम जिल्लामा माइ हाइड्रोपावर प्लान्ट–२२ मेगावाट र माई क्यासकेड जलविद्युत् प्लान्ट–७ मेगावाट गरी माइ खोलामा २९ मेगावाटको जलविद्युत् प्लान्ट सञ्चालन गरिरहेको छ । माइ हाइड्रोपावर प्लान्टको व्यावसायिक सञ्चालन २०७१ र माइ कास्केड जलविद्युत् प्लान्ट २०७२ देखि सञ्चालनमा ल्याएको हो । 




 सानिमा माइ हाइड्रोपावरको चालु आर्थिक वर्षको पहिलो त्रैमास
 
सानिमा माइ हाइड्रोपावर लिमिटेड चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड ६३ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १०.९४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा यस हाइड्रोपावरले २० करोड ३९ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको पहिलो त्रैमाससम्ममा यस हाइड्रोपावरको विद्युत बिक्रीबाट हुने आम्दानी ३.९५ प्रतिशतले बढेर ३४ करोड ६ लाख रुपैयाँ पुगेको छ ।

गत आवको यसै अवधिमा सानिमा माइ हाइड्रोपावरले विद्युत बिक्रीबाट ३१ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको थियो । असोज मसान्तसम्ममा यस हाइड्रोपावरको चुक्ता पुँजी बढेर २ अर्ब ५५ करोड ३१ लाख पुगेको छ । सानिमा माइले अघिल्लो आवको मुनाफाबाट १० प्रतिशत बोनस सेयर वितरण गरेर चुक्ता पुँजी बढाएको हो । यस हाइड्रोपावरको सेयरधनी कोषमा ८७ करोड ८०  लाख रुपैयाँ सञ्चित छ भने अन्य जगेडा कोषमा ४५ लाख ५५ हजार रुपैयाँ जम्मा गरिएको छ ।



 विद्युत बिक्रीबाट हुने आय बढेको छ भने वित्तीय तथा अन्य सञ्चालन खर्चहरु घटेपछि हाइड्रोपावरको नाफा बढ्न टेवा पुगेको हो । अघिल्लो आर्थिक वर्षमा बोनस सेयर वितरणबाट पुँजी वृद्धि भएको थियो । गत आवको प्रथम त्रैमासमा वार्षिक प्रतिसेयर आम्दानी ३५ रुपैयाँ १६ पैसा रहेकोमा चालु आवमा प्रतियर आम्दानी थोरै बढेर ३५ रुपैयाँ ४६ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ५७ पैसा तथा मूल्य आम्दानी अनुपात २१ गुणा रहेको छ ।
 
सानिमा माइ हाइड्रोपावरको ५ वर्षको वित्तीय विवरण



प्राविधिक विश्लेषण


 
मैनवत्ति आकृति विश्लेषण  
 
यस साता कारोवार बन्द हुँदा सानो हरियो मैनवत्ति बनेको छ जसको माथिलो भागमा लामो स्याडो र तल्लो भागमा सानो स्याडो रहेको छ । यसले कारोबारको सुरुवाती चरणमा खरिद कर्तामा निकै आकर्षण बढे पनि अन्त्यमा केही बिक्री चाप  पनि हावी भएको देखिन्छ । यद्दपि, यस गत हप्ताको ओपनिङ अनुसार माथिल्लै  भाउमा क्लोज भएकाले आगामी दिनमा भाउ बढ्ने सम्भावना प्रबल देखिन्छ । मैनवत्ति आकृतिले लगानीकर्ता मनोविज्ञान दर्साउने गर्छ । 
 
१४ दिने आरएसआई रिलेटिभ स्ट्रेन्थ इन्डेक्स
 
विगत १ महिनादेखि ५० देखि ६० को स्केलबाट १४ दिने आरएसआई रिलेटिभ स्ट्रेन्थ इन्डेक्स करेक्सनपछि ७१ को स्केल पुगेको छ । यसले सानिमा माइमा बुलिस मोमेन्टम रहेको देखाउँछ । आरएसआई बजारमा खरिदबिक्री रणनीति बनाउन उपयोगी प्राविधिक औजार मानिन्छ । 
 
कमोडिटी च्यानल इन्डेक्स
 
सानिमा माईको मूल्य नोभेम्बर महिना सुरु भए यता १०० स्केल भन्दा नै मुभ भइरहेको छ । यस साता कारोबार हुँदा सीसीआई धनात्मक १४९ स्केलमा रहेको छ । यस औजारले पनि भविष्यमा भाउ बढ्ने नै संकेत गर्दछ । सीसीआई धनात्मक १०० भन्दामाथि गयो भने बढ्ने र ऋणात्मक १०० को स्केल भन्दा तल गएमा घट्ने संकेत गरेको मानिन्छ ।
 
मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स (एमएसीडी)
 
लामो समय देखि निरन्तर घटिरहेको एमएसीडी र सिग्नल लाइन दुवै जेरो लाइनमाथि ओभरल्याप भएको  छ । हिस्टोग्राम भने विस्तारै जेरो लाइतिर अघि बढेको छ । एमएसीडीले बजारको दिशा परिवर्तनको प्रवृत्ति (ट्रेण्ड) देखाउने गर्छ ।  
 
बोलिन्जर ब्याण्ड 
 
बोलिन्जर ब्याण्ड अनुसार माथिल्लो ब्याण्डमा मूल्य रहेको छ । भोलाटिलिटी मापन गर्ने बोलिन्जर ब्याण्डको अपर ब्याण्ड, मिडल ब्याण्ड तथा लोवर ब्याण्ड तीनवटै रेखा खुम्चिएको छ भने कम्पनीको मूल्य माथिलो ब्याण्डतिर रहेको छ । सामान्यतयः बोलिन्जर ब्याण्ड खुम्चिएको अवस्थामा मूल्यमा कम उतारचढाव हुने संकेत गर्दछ । 
 
निष्कर्ष 
 
सानिमा माई हाइड्रोपावर लिमिटेडले  चालु आर्थिक वर्षको पहिलो त्रैमास वित्तीय औसतमा राम्रो सार्वजनिक गरेको छ । यस वर्ष कम्पनी व्यवस्थापनले प्रभावकारी   कार्य सम्पादन तथा तीब्र मेसिनरी मर्मत गरेको दाबी गरेको छ । यसैगरी, अनुकूल वर्षा तथा ब्याजदर घट्दा कम्पनीको वित्तीय तथा सञ्चालन लगायतका खर्च घटेकाले पनि नाफा वद्धिमा सहयोग पुगेको हो ।

यस कम्पनीको माइ हाइड्रोपावर प्लान्ट (२२ मेगावाट र माई क्यासकेड जलविद्युत् प्लान्ट ७ मेगावाट पूर्ण सञ्चालनमा आई राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको छ । यस आधारमा पनि कम्पनीको आगामी दिनमा पनि कम्पनीको नाफा क्रमशः वृद्धि हुँदै जाने देखिन्छ । साथै, सानिमा हाइड्रो पावरले नयाँ परियोजना निर्माणका लागि थप लगानी गर्नुपर्ने पनि हुन सक्छ ।

२० दिने मुभिङ एभरेजमा २ पटक टेस्ट गरेको कम्पनीको प्रायजसो प्राविधिक सूचकहरुल जस्तोः मैनवत्ति आकृति, आरएसआई, सीसीआई, एमएसीडीले पनि भाउ क्रमशः बढ्ने संकेत गर्दछ । अहिले मूल्य चाल अनुसार ४१० रुपैयाँमा अवरोध तथा ३२० रुपैयाँ हाराहारीको तहमा टेवा रहेको देखिन्छ ।
 
(सावधानी : यो विश्लेषण आफैंमा पूर्ण होइन । यसर्थ, लगानी सम्बन्धि निर्णय लिंदा थप अध्ययन र विवेक प्रयोग गर्न अनुरोध गरिन्छ ।)
 
 
 

Post Your Comment