श्री इन्भेष्टमेन्टको १०% लाभांश सुरक्षित गर्ने पनि आज अन्तिम मौका

29 Nov,2018
  • Shree-investment-finance-compan_7_6_2018_11_10_20.jpg
नेपाली पैसा
 
काठमाडौं : श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीको १०% लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन हो । पुस २ मा साधारण सभा गर्न कम्पनीले मंसिर १६ गतेदेखि बुक क्लोज गर्दैछ । शुक्रबार र शनिबार कारोबार नहुने भएकाले लाभांश सुरक्षित गर्न आजै सेयरधनी बनिसक्नुपर्नेछ । सभामा कम्पनीले गत वर्षको कमाईबाट ८.७७% नगद लाभांश र १.२३% बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । 
 
यो फाइनान्सले ७ करोड १ लाख ६५ हजार रुपैयाँ नगद लाभांश र ९८ लाख ५० हजार रुपैयाँ बोनस सेयरमा खर्च गर्नेछ । सभा रसियन कल्चर सेन्टर, कमलपोखरी काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । बोनसपश्चात कम्पनीको चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही अनुरुप प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि सभामा पेश गरिँदैछ । 
 
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि सभामा पेश हुनेछ । हाल कम्पनीको चुक्ता पुँजी ८० करोड १ लाख ५० हजार रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २ करोड ५२ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

Post Your Comment