सिन्धुको ५.९५% बोनस पारित गर्न असार ३१ मा एजीएम, कार्य क्षेत्र विस्तार गरिने

25 Jun,2018
  • Sindhu-bikas-bank-Ltd_6_25_2018_11_30_03.jpg
नेपाली पैसा 
 
काठमाडौं : सिन्धु विकास बैंकको साधारण सभा असार ३१ मा हुने भएको छ । सभामा बैंकले गत वर्षको नाफाबाट ५.९५% बोनस दिने विशेष प्रस्ताव पेश गर्दैछ । कर तिर्न ०.३१३% नगद लाभांश दिने प्रस्ताव पनि हुनेछ । बैंकले २ करोड ८० लाख ८० हजार ८१६ रुपैयाँ बराबरको बोनस र १४ लाख ७७ हजार ९३७ रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो ।

सभा मिरावल रिसोर्ट एण्ड होटल प्रालि, धुलिखेलमा बिहान १० बजे सुरु हुनेछ । बैंकको कार्यक्षेत्र चितवन र मकवानपुरमा पनि विस्तार गर्ने एजेन्डा रहेको छ । आर्थिक वर्ष २०७३–७४ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि छ । आर्थिक वर्ष २०७४–७५ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने एजेन्डा पनि पेश हुँदैछ । 
 
सर्वसाधारण समूहको ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा समेत छ । साधारण सभा गर्न सिन्धुले असार २२ देखि ३१ गतेसम्म बुक क्लोज गर्नेछ । असार २१ सम्म कायम सेयरधनीले बोनस पाउन सक्नेछन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा सिन्धुको चुक्ता पुँजी ४१ करोड ८१ लाख १६ हजार रुपैयाँ छ ।

हाल यस बैंकले संस्थापक समूहको ५ लाख ३५ हजार ३०१ कित्ता सेयर सर्वसाधारणले पनि किन्न पाउने गरी लिलामीमा बिक्री खुला गरिरहेको छ । लिलामी सेयर बिक्रीपछि चुक्ता पुँजी ४७ करोड १९ लाख ४६ हजार ५०० रुपैयाँ पुग्नेछ । 
 
बोनस वितरण पश्चात सिन्धुको पुँजी अझै बढ्नेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले १ करोड ८१ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ५८ पैसा छ ।
 

Post Your Comment