Market Closed

सनराइज बैंकको ऋणपत्र भर्ने म्याद लम्बियो, अहिलेसम्म कति पर्यो आवेदन ?

08 Apr,2019
  • Sunrise-bank-Ltd_4_23_2018_10_54_51.jpg
नेपाली पैसा
 
काठमाडौं : सनराइज बैंकको ४ लाख युनिट (इकाई) ऋणपत्र भर्ने समय लम्बिएको छ । यस ऋणपत्रमा सोमबार (चैत २५ गते) सम्म पनि माग अनुसार आवेदन नपरेपछि म्याद लम्बिएको हो । अब यसमा वैशाख १९ गतेसम्म आवेदन दिन पाइनेछ । तर सो अवधि भित्रै माग अनुसार आवेदन परेमा भने पूर्व सूचना दिएर निष्कासन बन्द गरिने बैंकले जनाएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार अहिलेसम्म १ सय ८७ जनाले ३१ हजार ७२५ युनिटका लागि मात्र आवेदन दिएका छन् । 
 
यसआधारमा सर्वसाधारणलाई खुला गरिएकोमध्ये अझै ३ लाख ६८ हजार २७५ युनिट बिक्री हुन बाँकी रहेको छ । बैंकले कुल १० लाख युनिटमध्ये सामूहिक लगानी कोषलाई छुट्याएको २० हजार युनिटसमेत थप गरी सर्वसाधारणलाई ४ लाख युनिट ऋणपत्र बिक्रीमा ल्याएको हो । बाँकी ६ लाख युनिट भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थाहरुलाई बिक्री गर्नेछ ।
 
सनराइज बैंकले चैत २० गतेदेखि ‘१०% सनराइज डिबेन्चर (ऋणपत्र) २०८०’ जारी गरेको हो । लगानीकर्ताले प्रतियुनिट १ हजार रुपैयाँका दरले न्यूनतम २५ देखि अधिकतम ४ लाख युनिटसम्म आवेदन दिन सक्नेछन् । वार्षिक १०% ब्याज पाइने यो ऋणपत्र ५ वर्षपछि परिपक्क हुनेछ । 
 
यो ऋणपत्रलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले न्यून जोखिम जनाउने ‘केयर एनपी ए रेटिङ’ दिएको छ । पछिल्लो समय बैंकहरुले अतिरित्त पुँजी जुटाउन ऋणपत्र जारी गर्ने क्रम बढेको छ । तर ऋणपत्रमा सर्वसाधारणको चासो भने निकै कम देखिएको छ ।
 
सनराइजको ऋणपत्र बिक्रीबाट आएको रकममध्ये ८०% कर्जा लगानी र २०% संरचना तथा व्यवसाय विस्तारको लागि उपयोग हुनेछ । सनराइज बैंकको सबै शाखा र सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ  ।

Post Your Comment