Market Closed

चर्को ब्याजदरले चेपिएका ऋणीहरु उठ्न अझै समय लाग्ने, यसकारण नघट्ने भयो तत्काल

09 Aug,2017
  • interest_rate_8_9_2017_6_17_00.jpg
एलिजा उप्रेती 
 
काठमाडौं : बैंक तथा वित्तीय संस्थाले अत्याधिक तरलता अभाव देखाउँदै व्यापक ब्याजदर बढाएपछि ढाड सेकिएका ऋणीहरु अझै केही समय उठ्न नसक्ने भएका छन् । नयाँ आर्थिक वर्ष प्राररम्भ अनि स्थानीय तहको चुनावका कारण बैंकिङ प्रणालीमा लगानी योग्य रकम भने सहज भइसकेको छ । तर बैंकहरुले भने ऋणको ब्याजदर घटाउन अहिलेसम्म कुनै पनि पहल गरिरहेका छैनन् । राष्ट्र बैंकको तथ्यांक अनुसार अहिले बैंकिङ सिस्टममा ९६ अर्ब ७० करोड अधिक तरलता छ । उसो त निक्षेपमा १४ प्रतिशतसम्म ब्याजदर दिएका बैंकहरुले नयाँ आर्थिक वर्ष लागेसँगै नयाँ ब्याजदर सार्वजनिक गरिरहेका छन् । नयाँ ब्याजदर अनुसार बैंक तथा वित्तीय संस्थाले मुद्दति निक्षेपको ब्याजदर ११ प्रतिशतमा झारिसकेका छन् । यसरी हेर्दा निक्षेपमा औसतमा २ देखि ३ प्रतिशतसम्म ब्याजदर कम भएको छ । तर कर्जाको ब्याजदर भने अपेक्षित रुपले घट्न सकेको छैन । 
 
सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल ब्याजदर पहिले भन्दा अहिले घट्न सुरु गरेको बताउँछन् । तर अपेक्षित रुपमा ब्याजदर नघट्नुको कारण भने बैंकको लागत र आधार मूल्य (बेस रेट) बढ्नु रहेको उनको भनाइ छ । हरेक ३–३ महिनामा बेस रेट निर्धारण हुन्छ । दाहालका अनुसार बेस रेटभन्दा एक पैसा पनि माथि गएर ब्याज लिन थाल्यो भने ऋणीले राष्ट्र बैैंकमा निवेदन दिन सक्छन् र त्यस्ता बैंकहरु कारबाहीमा पनि पर्न सक्छन् । उनी भन्छन्, ‘राष्ट्र बैंकको कडा नियम हुँदाहुँदै कुनै पनि ऋणीले ब्याजदर घटाउनुपर्याे भनेर कराउनु नै पर्दैन । बेस रेट घटेसँगै ब्याजदर आफै घट्छ ।’ गत आर्थिक वर्षको चौथो त्रैमासिक प्रतिवेदन हेर्ने हो भने धेरै जसो बैंकहरुको कोषको लागत बढेको देखिन्छ । हालसम्म चौथो त्रैमासको प्रतिवेदन सार्वजनिक गरिसकेका १३ वटा वाणिज्य बैंकलाई अध्ययन गर्दा आधारदर र लागत गत वर्षको तुलनामा झण्डै दोब्बरले बढेको छ । बेस रेट झण्डै १२ प्रतिशतसम्म पुगेको छ भने लागत पनि करिब साढे ८ प्रतिशतसम्म पुगेको देखिन्छ ।



प्रमुख कार्यकारी अधिकृत दाहालको भनाइलाई नै आधार मान्ने हो भने पनि यही लागतका कारण बेस रेट बढेकाले अझै तत्काल ऋणको ब्याज घट्ने देखिदैन । मुद्दति निक्षेपमा चर्को ब्याजदर दिइएका कारण अहिले कर्जामा ब्याज घटाउन थप कठिनाई भइरहेको बैंकरहरुको भनाई छ । उसो त साउन खासै कर्जाको माग हुने भने महिना होइन । भदौ लागेसँगै कर्जाको माग बढ्न सुरु हुन थाल्छ । ब्याजदर घटाउनुपर्ने चौतर्फी दवाबका बीचमा पनि मौद्रिक नीतिले यसलाई सम्बोधन नगर्दा ब्याजदर घटाउनेतर्फ बैंकहरुको पहल देखिदैन । यता, बैंकिङ विज्ञ अनलराज भट्टराई अझै कर्जाको ब्याजदर घट्न अर्को त्रैमाससम्म कुनुपर्ने बताउँछन् । यसबीचमा  राष्ट्र बैंकले अर्थतन्त्रमा नयाँ टुल्स प्रयोग गरेर ब्याजदर घटायो भने घट्न सक्ला तर यत्तिकै तत्काल ब्याजदर घट्ने सम्भावना देखिंदैन, उनले भने । कर्जाको ब्याजदर घटाउन निक्षेपको ब्याजदर पनि घटाउनुपर्छ । यसअघि मुद्दति निक्षेपमा ब्याजदर बढाएर राखिसकेकाले कम्तीमा १ वर्षसम्म ब्याजदरमा थोरै तलमाथि भएपनि अपेक्षा अनुसार घट्ने सम्भावना छैन । 
 

Post Your Comment