Market Closed

नाफा घटेको हल्लाले लगानीकर्ता तर्सिएका हुन्

10 Nov,2017
  • rajkumar_3_11_10_2017_6_11_00.jpg
राजकुमार तिमिल्सिना 
 
काठमाडौं : पुँजी बजारमा अहिले जसरी विभिन्न नकारात्मक हल्लाहरु मच्चाइएको छ, त्यो सबै निराधार हो । बजार यसरी निरन्तर तल झर्नुपर्ने कुनै पनि कारण छैन । विशेषगरी यतिबेला सूचीकृत कम्पनीहरुको प्रथम त्रैमासको नाफा घट्यो, प्रतिसेयर आम्दानी खस्कियो भन्ने खबरहरुले लगानीकर्ता त्रसित भएका हुन् । तर मेरो विचारमा कम्पनीहरुको प्रथम त्रैमासको रिपोर्टलाई हामीले त्यसरी नकारात्मकरुपमा हेर्नु हुँदैन । हल्ला गरिए जसरी समग्रमा नाफा घटेको पनि छैन । विगतमा १ हजार देखि १२ सय रुपैयाँसम्म पुगेका कम्पनीको भाउ अहिले ३ सय देखि ४ सय रुपैयाँ हाराहारीमा आइसकेका छन् । यसआधारमा अहिलेको कमाईबाट लगानीकर्तालाई कुनै पनि हालतमा घाटा हुँदैन । कम्पनीको कमाई र प्रतिसेयर आम्दानीलाई बजार मूल्यसँग पनि जोडेर हेर्नुपर्यो नि । यसबाहेक जसले लामो समयसम्म होल्ड गर्ने हिसाबले सेयर किनेका छन् । उनीहरुलाई त झन् कत्ति पनि घाटा छैन । यसबीचमा कम्पनीहरुले आकर्षक बोनस, हकप्रद र नगद लाभांश दिइसकेका छन् । त्यो पनि दीर्घकालीन लगानीकर्ताले पाएकै छन् । प्रथम त्रैमासको रिपोर्ट सम्बन्धी खबर बढी नकारात्मकरुपमा प्रस्तुत गरिएकै कारण अहिले सेयर बजार बढ्न नसकेको हो । अलिकति सही सूचना सम्प्रेषणमा पनि कमीकमजोरी भयो कि जस्तो मलाई लागिरहेको छ । फेरि हामीले प्रथम त्रैमासमा केही नाफा घट्यो भनेकै आधारमा आत्तिनु पनि हुँदैन । अझै ३ वटा त्रैमासको रिपोर्ट आउनै बाँकी छ । आउने त्रैमासहरुको रिपोर्टमा नाफा बढाउने सम्भावना प्रवल छ । त्यसबाहेक कतिपय कम्पनीले भर्खरैमात्र हकप्रद सेयर बिक्री गरेका छन् । उनीहरुले बल्ल त्यसलाई चुक्ता पुँजीमा जोडेर रिपोर्ट सार्वजनिक गरेको अवस्था छ । तर त्यो पुँजीबाट कमाई गर्न भने भ्याएका छैनन् । त्यस हिसाबले पनि खुद नाफार र प्रतिसेयर आम्दानी घटेको देखिएको हो । 
 
यसबाहेक सेयर बजारलाई आपूर्ति पक्ष प्रबल हुँदा केही असर गरेको भने पक्कै हो । भारीमात्रामा चुक्ता पुँजी बढ्दा बजारमा सेयरको आपूर्ति बढेको छ । यसरी बढेको आपूर्तिलाई कसरी व्यवस्थापन गर्ने भनेर समयमा सही पहिचान गरी त्यस अनुसार काम गर्न नसक्दा समस्या आएको हो । सरोकारवाला निकायले बढ्दो आपूर्ति खपत गर्न कसरी नीतिनियम बनाउनेमा  चाहिँ चुकेकै हुन् । बजार सुस्त भइरहेका बेला फेरि अनलाइन प्रणाली तत्काल नआउने खबर सार्वजनिक भयो । कात्तिक २१ देखि अनलाइन प्रणालीको परीक्षण हुने यसअघि जानकारी गराइएकोमा अहिले फेरि जेठयता आउन नसक्ने भनेर सूचना प्रवाह हुँदा यसले पनि लगानीकर्तामा थप निराशा पैदा गर्यो । अनलाइन प्रणाली सुरु भएपछि हाम्रो बजारले नयाँ उचाई लिनेमा दुई मत नै छैन । कतिपयले बाम गठनबन्धनको हल्ला पनि फैलाएका छन् । तर मेरो विचारमा बाम गठबन्धनले कुनै पनि असर गर्दैन । अझ प्रमुख दलहरु २ खेमामा लागेर बलियो बनिरहेको सन्दर्भमा कुनै एक पक्षले बहुमत ल्याउने र त्यसपछि ५ वर्षसम्मका लागि स्थायी सरकार बन्ने सम्भावना अझ बढेको छ । यसो हुन सक्यो भने मुलुकमा राजनीतिक स्थायित्व कायम हुन जान्छ । अनि आर्थिक विकासका गतिविधिले छलाङ मार्ने देखिन्छ । जसले पुँजी बजार विकासमा महत्वपूर्ण योगदान पुग्न सक्छ । 
 
यतिबेला विभिन्न सामाजिक सञ्जालहरुमा नकारात्मक हल्ला फैलाइएको छ । विभिन्न ग्रुपहरुमा बजारको प्राविधिक विश्लेषणका नाममा नेप्से यति अंकसम्म झर्छ भनेर प्रचारबाजीहरु भएका छन् । जसले सर्वसाधारण लगानीकर्ताको मनोविज्ञान झनै कमजोर बनाइदिएको छ । बजार विश्लेषण गर्ने पण्डितहरु अलि बढी भए जस्तो मलाई लागिरहेको छ । लगानीकर्ताको हकहित गर्न भनेर खुलेका कतिपय संगसंगठनहरु पनि सामूहिकभन्दा निश्चित समूह र व्यक्तिगत फाइदातर्फ तल्लीन भएको देख्न सकिन्छ । जसले गर्दा बजार विकासमा सामूहिक आवाज बुलन्द हुन सकिरहेको छैन । यतिबेला बजार विकासका लागि सरोकारवाला सबैले हात्तेमालो गरेर अघि बढ्नुपर्ने हो । तर व्यवहारमा त्यस्तो हुन सकेन । नीगितगत कमीकमजोरी देखिएका छन् । मुलुक यतिबेला निर्वाचनको माहोलमा होमिएको छ । निर्वाचनमा बजारमा प्रशस्त पैसा आउँछ । यसले अर्थतन्त्रलाई थप चलायमान बनाउँछ । फलस्वरुपः पुँजी बजारमा पनि राम्रो प्रभाव पर्न जाने विश्वास गर्न सकिन्छ । दीर्घकालमा सेयर बजार निकै राम्रो हुने मेरो व्यक्तिगत बुझाई छ । अहिलेको बियरिस ट्रेन्ड धेरै समय जानुपर्ने कुनै कारण छैन । अनलाइन प्रणाली तत्काल ल्याउने, मार्जिन लेन्डिङको कार्यविधि जतिसक्दो छिटो बनाएर कार्यान्वयन गर्न सकियो भने यसले पुँजी बजार सुधारमा निकै राम्रो काम गर्नेछ । मार्जिन लेन्डिङको कार्यविधि बनाउनमा अब नेप्से र सीडीएसको भूमिका बढी महत्वपूर्ण हुने देखिन्छ । समग्रमा सरोकारवाला निकायहरुले आआफ्नो ठाउँबाट आफ्ना जिम्मेवारी इमान्दारिताका साथ छिटोछरितो रुपमा पूरा गर्ने हो भने पुँजी बजारको नयाँ गतिलाई कसैले रोक्न सक्दैन । पुँजी बजारको स्वर्ण समय आउँदैछ । लगानीकर्ताले धैर्य गर्न सक्नुपर्छ । 
 
(भिजन सेक्युरिटिजका अध्यक्ष तिमिल्सिनासँग नेपाली पैसाले गरेको कुराकानीमा आधारित ।) 
 
 
 

Post Your Comment