Market Closed

दोस्रो त्रैमासदेखि फेरि पहिलेजस्तै नाफा बढ्न थाल्छ

15 Nov,2017
  • ashwok_11_15_2017_5_15_06.jpg
नेपाली पैसा 
 
काठमाडौं : बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सोचे अनुरुप नाफा गर्न नसकेपछि यति बेला लगानीकर्ताले यसको मुख्य कारण खोजिरहेका छन् । सञ्चालनमा रहेका सबै २८ वटै वाणिज्य बैंकले पहिलो ३ महिनाको वित्तीय विवरण सार्वजनिक गरेका छन् । यसमध्ये १२ बैंकको नाफा घटेको छ । नाफा वृद्धि भएकाहरुमा पनि सिभिल, प्राइम, राष्ट्रिय वाणिज्य बैंकबाहेक अन्य बैंकको नाफा वृद्धिदर सन्तोषजनक छैन । केही समयअघि लगानीयोग्य रकमक अभाव भएको भन्दै बैंकहरुले निक्षेपमा महँगो ब्याजदर लिएर पैसा तान्न थाले । त्यही महँगो ब्याजदरमा उठाएको निक्षेपको भार यतिबेला बैंकहरुको नाफामा देखिएको छ । नाफा वृद्धि खुम्चिनुमा यसो भन्छन् बैंकर्सहरु :


भुवन दाहाल (सीइओ, सानिमा बैंक) 

ब्याजदर बढेपछि बैंकहरुको खर्च पनि बढेको छ । बिजनेसमा प्रतिस्पर्धाले बैंकहरुको निक्षेपमा दिने र कर्जामा लिने ब्याजको अन्तर पनि घटेको छ । कतिपयले त आधारदर भन्दा तल गएर पनि ऋण लगानी गरेकाले नाफा घटेको हो । अहिले बजारमा आधारदर बढेको छ र ब्याजदर घटिरहेको छ यसले गर्दा पनि आम्दानी घट्न गएको हो ।

 
अनलराज भट्टराई (बैकिङ विज्ञ) 

केही समय अघि बैंकहरुले तरलता अभाव देखाउँदै महँगोमा निक्षेप तानेका थिए । बचत खातामा पैसा राखेकाहरुले समेत बैंकहरुले मुद्दतिमा महँगो ब्याज दिन थालेपछि त्यतै सार्न थाले । त्यसैको असर अहिले बैंकहरुको नाफामा देखिंदैछ । ५–६ प्रतिशत ब्याजदरको सेभिङ डिपोजिट एकै पटक १२–१३ प्रतिशतको फिक्स्ड डिपोजिटमा ट्रान्सफर हुन थाल्यो । ऋण प्रवाह हुन सकेन र अरु गतिविधि पनि २–३ महिना त शून्य जस्तै भयो, यसले गर्दा नेट मार्जिन घट्न गयो । तर, बैंकहरुको नाफा अनुपात दोस्रो त्रैमासदेखि फेरि सुधार हुन्छ । गत वर्षकै हाराहारीमा यो वर्ष पनि नाफा हुन्छ । यसका लागि राष्ट्र बैंकले सीसीडी रेसियोलाई हटाएर लिक्विडिटी रेसियोको व्यवस्था गर्नुपर्छ । लिक्विडिटी रेसियो १५–२० प्रतिशत बनाइदियो भने बैंकको नाफा बढ्छ ।


 
अशोक राणा (सीइओ, हिमालयन बैंक) 

बैंकहरुको कस्ट अफ फन्ड बढेपछि पहिलो त्रैमासको खुद नाफा घटेको हो । अर्को कुरा, निक्षेपको ब्याजदर बढ्दा पनि त्यसको असर अहिले नाफामा देखिएको हो । यो अल्पकालीन हो । दोस्रो त्रैमासदेखि बैंकहरुको नाफा बढ्ने मैले अनुमान गरेको छु ।
 
 (नेपाली पैसाका लागि एलिजा उप्रेतीले गरेको कुराकानीमा आधारित ।)
 
 
 
 
 

Post Your Comment