Market Closed

बल्ल आयो लगानीकर्ताको मुहारमा चमक, के अब सम्हालिएकै हो त बजार ?

13 Dec,2017
  • bull_bear_new_12_13_2017_3_40_34.jpg
नेपाली पैसा 
 
काठमाडौं : झन्डै निराश हुने अवस्थामा पुगेका लगानीकर्तालाई बुधबार सेयर बजारले राहत दिएको छ । निर्वाचनपछि निरन्तर घटेको बजारमा बल्ल हरियाली देख्न पाइएको हो । यसअघि बदलिंदो राजनीतिक घटनाक्रमका कारण लगानीकर्ता अन्योलमा पर्दै आएको अनुमान गरिएको थियो । तर अब विस्तारै लगानीकर्ता त्यसबाट बाहिर निष्किए जस्तो देखिएको छ । त्यसो त बजार लगातार तल झरिरहने भन्ने पनि हुँदैन । अत्यन्तै शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएर बाम गठबन्धनको नेतृत्वमा बहुमतीय सरकार बन्दैछ । यसले ५ वर्षसम्म निरन्तर शासन गर्नेछ । यसबाट आर्थिक गतिविधिले प्राथमिकता पाउने आमअपेक्षा छ । आर्थिक गतिविधि बढ्दा पुँजी बजारमा पनि सकारात्मक प्रभाव पर्न सक्छ । चुनावपछि लगातार बजार घट्नुलाई कतिपयले निर्वाचन परिणामसँग पनि जोडेर हेरेका थिए । जे कारणले भए पनि ३ दिनसम्म निरन्तर झरेको बजार बुधबार सम्हालिंदा लगानीकर्ताको मुहारमा पनि चमक थपिएको छ । अब बजारले विस्तारै नयाँ गति समात्ने लगानीकर्ताले विश्वास लिएका छन् । मंसिर मसान्त नजिकिएकाले पनि सेयर बजार हरियो बनाउने सहयोग पुग्ने विश्वास गरिएको छ ।

म्युचुअल फन्डहरुले खुद सम्पति मूल्यमा सुधार गर्न पनि मसान्तमा बजारलाई उकास्ने प्रयत्न गर्छन् । यसबाहेक बैंकबाट कर्जा लिएर सेयर किनेकाहरुलाई पनि मसान्तमा बजार माथि जाँदा सजिलो हुन्छ । बजार धरै घट्दा मार्जिन कल हुने लगानीकर्तालाई चिन्ता हुन्छ । सेयर बजारमा लगानीकर्ताको मनोविज्ञानले पनि निकै ठूलो भूमिका निर्वाह गरेको हुन्छ । बजार बढ्छ भन्ने लगानीकर्तालाई विश्वास लाग्न सक्यो भने माथि जान कसैले रोक्न सक्दैन । तर लगानीकर्ताको आत्मबल बढ्न सकेन भने बजारको दिगो विकासमा समस्या पर्न सक्छ । सेयर बजारमा राजनीतिको भूमिका रहने भए पनि त्यो मात्रै प्रमुख पक्ष भने होइन । मुलुकको आर्थिक अवस्था, सूचीकृत कम्पनीहरुको नाफा, प्रतिसेयर आम्दानी, नेटवर्थ, सम्बद्ध कम्पनीहरुको व्यावसाय विस्तारको सम्भवनाले बजारलाई कता डोर्याउने भनेर मुख्य भूमिका निर्वाह गरिरहेको हुन्छ । साथै, सेयर कर्जामा बैंक ब्याजदरको पनि ठूलो हात हुने गर्छ । 

 
नेप्से सूचक बुधबार १०.५३ अंकले बढेर १५२०.७४ अंकमा आइपुगेको छ । समग्रमा बजार ०.७० प्रतिशतले बढेको हो । कुल १६४ कम्पनीको ४९ करोड ४३ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार किनबेच भएको छ । कुल १० लाख ६१ हजार ८५१ कित्ता सेयर कारोबार भएको हो । नेप्सेमा सूचीकृत सबै समूहका सूचकमा हरियाली आएको छ । सबैभन्दा धेरै बिमा समूहको सूचक ५२.४८ अंकले बढेको छ । यसैगरी, होटेल समूहको सूचक ३८.०९ र उत्पादनमूलक समूहमा ३२.८१ अंकले तेजी आएको छ । वाणिज्य बैंक समूहको सूचक भने ८.१५ अंकले माथि आएको छ । कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंकले अग्रता लिएको छ । ग्लोबल आइएमईको ५ करोड ४० लाख रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको हो । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः स्टान्डर्ड चार्टर्ड बैंक र राष्ट्रिय बिमा कम्पनीको संस्थापक सेयर परेको छ । 
 
           कारोबार रकमका आधारमा प्रमुख १० कम्पनी   


 
 

Post Your Comment