Market Closed

कहाँ गयो चुनावमा खर्च भएको ४० अर्ब रुपैयाँ ?

23 Dec,2017
  • money_12_23_2017_6_29_39.jpg
नेपाली पैसा 
 
काठमाडौं : हालै सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा सरकारले मात्रै २० अर्ब रुपैयाँ खर्च गरेको छ । स्थानीय तहको चुनावसमेत हिसाब गर्दा चुनावी प्रयोजनमा सरकारको ४० अर्ब रुपैयाँ खर्च भएको अनुमान छ । अझै चन्दा र राजनीतिक दलहरुले गर्ने खर्चको लेखाजोखा नै छैन । तर, जसले जता–जताबाट खर्च गरे पनि त्यसरी खर्च भएको अधिकांश पैसा पुनः बैंकिङ च्यानलमै आउने विश्लेषण गरिएको थियो । सेयर बजारमा पनि चुनावी वर्ष भएकाले निकै चहलपहल बढ्ने आशा थियो । बैंकमा पर्याप्त निक्षेप जम्मा हुने अनि निक्षेप टन्न भएपछि ब्याजदर घट्ने धेरैको विश्लेषण थियो । ब्याजदर घटेपछि सेयर बजारमा सकारात्मक प्रभाव देखिने अपेक्षामा लगानीकर्ता बसे । तर अहिले यो विश्लेषण मिल्न सकेको छैन । चुनावमा खर्च भएको अरबौं रुपैयाँ कता हरायो ? बैंकमा पैसा किन आएन भन्ने चर्चा सुरु भएको छ । अर्थशास्त्री डा. चन्द्रमणि अधिकारी भने चुनावमा खर्च भएको सबै पैसा बैंकिङ प्रणालीमा आउँछ भन्ने आश नै गर्न नहुने बताउँछन् । उनी भन्छन्, ‘हाम्रोमा धेरै जसो सामान आयातीत छन् । चुनावमा धेरै जसो दलको झण्डा, गाडीको इन्धन लगायतमा खर्च भएको छ । ती सबै पैसा बाहिर गइसके । गाउँघरमा भोजभतेरमा खर्च भएको पैसा त्यतैतिर छरिअर्को पुनर्निर्माएर रहने गर्छ । यसबाहेक पुननिर्माणको गतिविधि सुस्त  हुँदा सरकारी खर्च बढ्न सकेको छैन ।  सरकारी खर्च नबढेका कारण पनि अहिले बैंकमा तरलता अभाव देखिन थालेको हो डा. अधिकारीको भनाई छ । अर्थशास्त्रीहरु नेपालको अर्थतन्त्रको कुल हिस्सामध्ये ४५–५०% प्रतिशत अनौपचारिक क्षेत्रमा रहने गरेको बताउँछन् । चुनावमै औसतमा एक जना उम्मेद्वारले २ करोडसम्म खर्च गरेको देखिन्छ ।

स्थानीय तहकै चुनावमा एउटा वडा अध्यक्षले २५–३० लाख रुपैयाँ खर्च गरेको यथार्थ पनि छ । अर्थशास्त्री डा. अधिकारी माघ लागेपछि सरकारी खर्च बढ्ने र त्यस अनुरुप तरलता पनि सहज हुन सक्ने बताउँछन् । कतिपयले चुनावी परिणामपछि तत्काल बजारमा लगानी गर्न तयार नदेखिएकाले पनि सेयर बजारमा असर गरेको दाबी गरिरहेका छन् । बैंकमा पनि सबै ट्रयाक रेकर्ड हुने भएकाले सबै पैसा राख्न चाहँदैनन् । १० लाख भन्दा बढीको कारोबारमा स्रोतको खोजी हुने भएकाले पनि ठूलो रकम जम्मा गर्न हिच्किचाउने प्रवृत्ति रहन्छ । केहीले क्यापिटल फ्लाइट भइरहेको पनि बताउने गरेका छन् । तर यसको प्रमाण  भने कतै फेला परेको छैन । अहिले बैंकहरुले आकर्षक ब्याजदरमा निक्षेपकर्तालाई तानिरहेका छन् । मुद्दति निक्षेपमा वाणिज्य बैंकहरुले नै ११% सम्म ब्याज दिन थालेका छन् । यसबाट बैंकिङ क्षेत्रमा लगानी योग्य रकम अभाव भएको र चुनावी पैसा बैंकमा नआएको पुष्टि हुन्छ । यता, राष्ट्र बैंकका प्रवक्ता नारायाण प्रसाद पौडेल अहिले तरलता संकट नै भएको भन्न नमिल्ने तर टाइट चाँहि हुँदै गएको बताउँछन् । यसअघि १४% सम्म मुद्दति निक्षेपको ब्याजदर पुर्याएका बैंकले ब्याजदरलाई एकल अंकमा झारिसकेका थिए तर फेरि केही दिन यता बैंकहरु ब्याजदर बढाउने प्रतिस्पर्धामा उत्रिएका छन् । ब्याजदर बढाउँदैमा बैंकमा अपेक्षा अनुसार निक्षेप जम्मा हुन्छ भन्ने निश्चित पनि हुँदैन । 
 

Post Your Comment