Market Closed

कृषिमा हाइब्रिड बीउले उत्पादन बढाए जस्तै हाइब्रिड लगानीबाट पनि चक्रवृद्धि नाफा हुन सक्छ

02 Feb,2018
  • keshav_2_2_2018_11_41_28.jpg
केशव श्रेष्ठ
प्रशिक्षक
 
(नेपाली पैसाले समय अनुसार सेयर बजार लगायत अन्य नविनतम प्रकृतिका तालिमहरुको पनि सुरुवात गरेको छ । यही २०७४ माघ २१ देखि २३ गतेसम्म बजारमा चल्तीमा रहेका भन्दा फरक र अनुसन्धानमूलक र लगानीकर्ताका लागि फाइदामूलक हाइब्रिड लगानी तालिम पनि नेपाली पैसाले सञ्चालन गर्दैछ । प्रस्तुत छ, यस तालिमको व्यवहारिक योजनामा विगत १७ वर्षदेखि अनुसन्धान र प्रयोग गर्दै आउनुभएका प्रशिक्षक केशव श्रेष्ठसँग तालिमका समग्र विषयकमा केन्द्रित रहेर नेपाली पैसाले गरेको कुराकानीको सार संक्षेप)
 
नेपाली पैसा : यसभन्दा अघि कहिल्यै नसुनिएको यो हाइब्रिड लगानी कस्तो किमिसको तालिम हो ?  
 
केशव श्रेष्ठ (प्रशिक्षक) : यो विल्कुलै नविनतम सोच र नयाँ अवधारणामा आधारित फरक किसिमको लगानी सम्बन्धी तालिम हो । बजारमा विभिन्न खालका लगानीका अवसरहरु उपलव्ध छन् । हामी सबैले त्यसलाई छुट्टाछुट्टै रुपमा अपनाइरहेका छौं । तर जब हामी ती लगानीका उपकरणहरुलाई उचित ज्ञान र शीपका आधारमा सम्मिश्रण अर्थात् हाइब्रिड गर्छौ तब लगानीबाट कमाउने क्षमता ज्यामितीय रुपमा बढेर जान्छ । समग्रमा भन्दा जसरी कृषिमा हाइब्रिड बीउले बढी उब्जनी दिन्छ, त्यसरी नै हाइब्रिड लगानीले पनि चक्रबृद्धि रुपमा उच्चतम प्रतिफल दिन्छ । यो कुरा नै हामी तालिममा सिकाउँछौं, बुझाउँछौं र प्रमाणित पनि गरिदिन्छौं । आफ्नो सानो लगानी रकमलाई दीर्घकालमा ठूलो प्रतिफलमा परिणत गर्ने आत्मविश्वास र पर्याप्त टिप्सहरु पनि दिन्छौं ।
 
उच्चतम प्रतिफल भन्नाले कति भन्न खोज्नुभएको हो ?
 
 दीर्घकालीन लगानीमा आउने प्रतिफल कति समयको लागि लगानी गर्ने, कति जोखिम लिएर कति ब्याज र बोनस पाउने गरी लगानी गर्ने भन्ने निर्णयमा भरपर्छ । तर सुरक्षित तवरले नै लगानी गर्दा पनि वार्षिक ४० प्रतिशत भन्दा माथि नै प्रतिफल कमाउन सकिन्छ । रकममा नै भन्ने हो भने ५ लाख रुपैयाँ लगानी गर्दा १५ वर्षमा ५० लाख रुपैयाँभन्दा माथि प्रतिफल लिन सकिन्छ ।
 
खासमा यति ठूलो र वृहत्त प्रतिफल हुन्छ भन्ने ग्यारेन्टीको आधार के हो ?
 
यो सरल कुरा छ । यसमा लगानीलाई चक्रबृद्धि दरमा कमाउने गरी प्रणालीबद्ध काम गराइन्छ । सोझै भन्दा लगानीले ब्याज कमायो, ब्याजले स्याज कमायो, स्याजले ढ्याज कमाउने हिसाबले योजनाबद्ध प्रणालीमा लगानी गर्ने हो । यो तालिममा हामी यी सबै कुराहरु कसरी गर्ने भनेर व्यवहारिक रुपमै पुष्टि गरिदिने छौं । 
 
धेरै कमाउने चक्करमा अति जोखिम त हुँदैन ?

हेर्नोस्, लगानी त जोखिमको खेल पनि हो । केही न केही जोखिम त लिनैपर्छ । तर यो लगानी योजनाको विशेषता के हो भने यसमा पूर्णतः कानुन भित्र रहेर, सुरक्षित र प्रमाणित भएका लेगानीका माध्यम र विधिहरु प्रयोग गरिन्छ । जस्तै, बैंक तथा वित्तीय संस्थाहरुले दिने मुद्दतिको ब्याज हामीले जानेकै, प्रयोग गरेकै कुरा हो । जीवन बीमा पनि हामीले गरिराखेकै विषय हो । सेयरको प्रारम्भिक निष्कासन (आइपीओ) पनि हामीले अपनाएकै छौंं । अब तिनै विधि र तरिकालाई थप ज्ञान, शीप लगाएर ब्यवस्थित एवं अनुशासित तरिकाले लगानीका योजनाहरु सञ्चालन गर्दा पैसाको उच्चतम कमाई र शक्तिको परिचालन गरिन्छ । लगानीमा हामी पैसाको चक्रबृद्धि कमाउने क्षमता (कम्पाउन्डिङ पावर अफ मनि) लाई संंसारको आठौं आश्चर्य भन्ने गर्छौं । तालिममा हामीले सिकाउने खास विषय नै यही हो ।
 
सीमित दिन त्यसमा पनि केही घन्टाको तालिममा यति गाँठी कुरा (लगानी मन्त्र) सिक्न सकिएला त ?
 
यो लगानी मोडलको अनुसन्धान हामीले विगत १७ वर्षदेखि गर्दै आएका छौं । पहिला हामी आफैंले यसलाई अपनायौं । अरुलाई पनि बुझायौं । अहिले यसलाई तालिमको रुपमा रुपान्तरण गरेर जनस्तरमा लैजान खोजेका मात्र हौं । हरेक चामत्कारिक कुराहरु सुरुमा असम्भव मानिन्छन् । आज भन्दा केही दशक अघिसम्म हजारौ पृष्ठका पुस्तकहरु एक मिनेटमा म प्रतिलिपि उतारिदिन्छु भनेर कसैले भन्थ्यो भने उ पक्कै पागलमा दरिन्थ्यो होला । तर अहिले हेर्नोस् त, कम्प्युटरको जमानामा हजारौं पृष्ठको सामाग्री एकै मिनेटमा कपि गर्न सकिन्न त ? यो लगानी योजनाको पनि १७ वर्ष सम्मको अनुसन्धानले प्रमाणित भइसकेको छ । अब तालिमको सीमित समयमा त यसको कपि गर्ने मात्रै न हो ।

 
यति धेरै प्रतिफल पाउने भए यही काम मात्र गरे भइहाल्यो, तपाई आफैंले करोडौं, अरबौं रुपैयाँ कमाए भइहाल्यो नि त । अरुलाई तालिम किन दिइरहनु पर्यो र ? 
 
लगानीको दुनियाँमा लगानी योग्य रकम सदैव अभाव हुने गर्छ । लौ मानें, म संग ज्ञान छ । मैले आजको मितिमा लगानी योग्य रकम कति निकाल्न सक्छु ? आजको लागि मात्र रकम जोहो गरेर भएन । त्यो लगानी रकमलाई दीर्घकालसम्म खेल्न दिनुपर्यो । यस्तो फ्री रकम म सँग वा कुनै पनि व्यक्तिसँग कति नै हुन्छ र ? त्यसैले यसमा कमाई हुने भनेको लगानी रकमको आधारमा हो । सानो रकमको सानै र ठूलो रकमको ठूलै प्रतिफल हुन्छ नि । मेरो ५० करोड कमाउने सपना होला रे । तर त्यसको लागि आजको मितिमा पाँच करोड लगाउन सक्नु परेन ? त्यसैले आज जति बचत हातमा छ, त्यतिबाटै सुरु गर्ने हो । हातमा भए जति सबै रकम यसमा लगाउने कुरा पनि हुँदैन । असन्तुलित ऋण लिएर यसमा लगाउने पनि होइन । नत्र त पछि तनाव हुन सक्छ । जीवन त भोली पनि सन्तुलित रुपमा चल्नु प¥यो नि, होईन र ? त्यसैले ठूलो रकमको सपना देख्नेले भन्दा पनि आज सानो रकमबाटै सुरु गर्नेले जित्छ । समग्रमा लगानी क्षमता अनुसार अधिकतम कमाउने हो । 
 
त्यसो भए हालसम्म कसले यो लगानीको योजना अपनाएका छन् र भने अनुसारको प्रतिफल पाएका छन् त ?
 
मैले त चार पाँच छिमलमा लगाएको छु र अपेक्षा भन्दा बढी प्रतिफल पाएको छु । मेरा नजिकका केही साथीहरुले पनि यो लगानी मोडल अपनाएका छन् र ती सन्तुष्ट पनि छन् । त्यसैले यसलाई तालिमको माध्यमबाट सबैलाई ज्ञान र शीप किन नदिने भनेर हामीले पनि यस्तो प्रयास गरेका हौं ।
 
तर यो अत्यन्तै नयाँ लगानी मन्त्र वा तालिम रहेछ । यसमा लक्षित वर्गलाई कसरी बुझाउनु हुन्छ ? लगानीकर्ताले यसलाई कसरी पत्याउने ?
 
अब पत्याउने भन्ने कुरा त प्रयोग गरेरै त थाहा पाउने हो । यो कुरामा विश्वस्त हुन त तालिम नै लिनु पर्यो । कहिल्यै रसबरी नखाएको मान्छेलाई रसबरी यस्तो मिठो हुन्छ भनेर बेसरी लेक्चर दिन सकिएला । तर साँच्चै रसबरीको स्वाद थाहा पाउन त खानैपर्छ नि, होईन र ? त्यस्तै हो यो कुरा पनि ।
 
धेरै पैसा कमाईको कुरो गर्दा नेटवर्क बिजनेसको ठगी पनि धेरैले सम्झने गर्छन् नि ?
 
 म त के भन्छु भने हामीले भेड बकरी, एक टोकरी गर्नु पनि भएन । म त नेटवर्क बिजनेसको कट्टर विरोधी मान्छे । त्यो पिरामिड बिजनेस हो । यो व्यक्तिगत लगानी हो । यी दुबैमा केही पनि साइनो र सम्बन्ध नै छैन । फेरि म त के भन्छु भने १५ वर्षमा लगानीको १० गुणा प्रतिफल भनेको ठिक्क पनि हो । अचेल बजारमा मासिक ३ प्रतिशतको ढ्याके ब्याजमा लगानी गर्नेहरु पनि छन् । त्यो सुरक्षित र प्रणालीगत अनि कानुनी आधारमा सही लगानी पनि होइन । त्यसैले ढ्याके ब्याजको लगानी कुनै पनि बेला डुब्न सक्छ । नत्र बिचार गर्नाेस् त, ३ प्रतिशत ढ्याके ब्याज १५ वर्ष, हरेक बर्षको ब्याज पुँजीकरण गरेर खेलाउन पायो भने त लगानीको १०० गुणा कमाई हुन्छ । हामीले त यहाँ १० गुणामात्र भनेका छौं । त्यो किनभने पूर्णतः सुरक्षित र कानुनी हिसाबले उचित, सुरक्षित र वैज्ञानिक लगानी हो ।
 
यसमा लगानी रकम कसलाई दिनुपर्ने र कहाँ बुझाउनुपर्ने हो ?
 
लगानीको बागडोर अरुको हातमा दिएर गर्ने लगानी यो होइन । यो योजनामा तपाईको लगानी तपाईकै हातमा रहन्छ, कसैलाई जिम्मा लगाएर धुकचुकमा बस्नुपर्दैन । जस्तै, तपाईको बचत तपाईकै नाममा मुद्दति खातामा राख्ने हो । जीवन बिमाको पनि तपाईले नै पोलिसी लिने हो । प्रारम्भिक निष्कासन (आइपीओ) को सेयर पनि तपाईकै नाममा किन्ने हो । त्यसैले यसमा लगानीको सम्पूर्ण नियन्त्रण तपाईकै हातमा रहन्छ । हरेक वर्ष तपाईको लगानी तपाईकै आँखा अगाडि हुर्किरहेको, बढिरहेको पाउनुहुनेछ ।
 
अचेल त लगानीको प्रतिफल आजको भोली चाहियो भन्ने जमाना छ नि । मान्छेले १५ वर्षसम्म के को उत्प्रेरणाले कुर्ने ? यो समय लामो भएन र ?
 
  हामी लगानीकर्ताहरु डुब्ने नै यस्तै असंयमताले त हो नि । आजको भोली प्रतिफल लिन त आफैले श्रम गर्नुपर्छ । लगानीमा त आफूले काम गर्ने होइन, पैसालाई काम गराउने हो वा काममा लगाउने हो । पैसाले काम गर्नको लागि त समय दिनैपर्छ नि । अचेल हामी देखासिकीमा, हल्लाको भरमा, सस्तो सल्लाहको भरमा लगानी गर्छौ । अनि डुब्छौं पनि । यो लगानी सर्टकर्ट हान्नेहरुको लागि होइन ।
 
त्यसो भए कस्ता खालका लगानीकर्तालाई यो तालिम बढी उपयोगी हुन्छ त ?
 
यस्ता लगानीकर्ताहरु जो सँग थोरै बचत छ । जसले त्यो बचतलाई दीर्घकालीनरुपमा परिचालन गरेर थोरै समय मात्र आफूले काम गरेर पनि राम्रो प्रतिफल लिन चाहनुहुन्छ उहाँहरुको लागि हो । मान्नुस् न, तपाई एउटा निश्चित उद्देश्यका लागि लगानी गर्दै हुनुहुन्छ । उदाहरणका लागि १५ वर्षपछि तपाई ब्याज खाएर रिटायर्ड जीवनको लागि आफ्नो पेन्सन फन्ड बनाउन चाहनुहुन्छ । वा, आफ्ना छोराछोरीको लागि १५ वर्षपछि बिहेवारीको वा उच्च शिक्षाका लागि ठूलो रकम सिर्जना गर्न चाहनुहुन्छ भने त्यस्ता दीर्घकालीन लगानीकर्तालाई यो तालिम अति नै उपयोगी हुन्छ ।
 
त्यसो भए लगानीकर्ताले के गर्नुपर्छ नि ?
 
सुरुमा त केही लगानी लगाउनैपर्छ । त्यसपछि लगानीकर्ताले नगरी नहुने कुरा चाहिँ संयम अपनाउने हो । बीचैमा लगानी योजना नबिगारीकन प्रणालीको तरिका अनुसार काम गरिदिएमात्रै पुग्छ । आर्थिक अनुशासनमा बसेर चलिदिए मात्र पनि पुग्छ । 

 
यसको गाह्रो वा जटिल पक्ष पनि त होलान् नि ? त्यति सजिलै यति धेरै कमाई हुने त होइन होला ?
 
जटिल पक्ष भनेको लगानीकर्ताले संयमित भएर ठीक समयमा ठीक काम गर्नुपर्छ । पैसाले हामीलाई कहिल्यै पुग्दैन । सिस्टमले मागेको ठाँउमा रकम हाल्नुप¥यो । सिस्टम भन्दा बाहिर गएर काम गर्नुभएन । यो जटिल विषय हो तर आत्माअनुशासनको माध्यमबाट हामी यो अवश्य पनि सुल्झाउन सक्छौं । 
 
 
 
 
 
 
 
 
 
 

Post Your Comment