Market Closed

नेप्से सूचकले देखायो झिनो आशा, सेयर बजार किन सकेको छैन दौडिन ?

11 Feb,2019
  • bear_girl-_2_11_2019_3_21_08.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेप्से सूचकले झिनो आशा देखाएको छ । निरन्तरजसो ओरालो लागेको सूचकले सोमबार केही तङग्रिने प्रयास गरेको हो । यद्दपि, वृद्धिदर निकै सुस्त छ । सूचक सकारात्मक देखिए पनि कारोबार रकमले गति लिन सकेको छैन । विस्तारै दैनिक खरिदबिक्री रकममा पनि सुधार आउने आम लगानीकर्ताको अपेक्षा रहेको छ । 
 
माघ लागेपछि बजारले गति लिने आम अपेक्षा विपरीत नेप्से सुस्त भएको हो । यतिबेला अधिकांश कम्पनीले साधारण सभा गरी लाभांश वितरण गर्न थालेका छन् । केहीको अझै साधारण सभा गर्न बाँकी रहेको देखिन्छ । साधारण सभा गरेर लाभांश वितरण गरिसकेपछि केही समय बजार सुस्त हुनु अनौठो विषय भने होइन ।

विगत वर्षहरुमा पनि यो बेला बजार सुस्त हुने गरेको थियो । लाभांश पाएपछि केही समय सूचीकृत कम्पनीहरुमा लगानीकर्ताका लागि उत्साह वृद्धि गर्ने उपकरण खासै हुँदैन । विस्तारै तेस्रो त्रैमासको रिपार्टसगँै लगानीकर्ताले फेरि अर्को वर्षको लाभांशको अनुमान तथा हिसाब किताब गर्न थाल्नेछन् । यसले फेरि बजारलाई तान्ने गरेको विगतका उदाहरण छन् । 
 
तर पुँजी बजारको प्रवृत्ति सधैं एकनासको हुँदैन । बजारले फरक समयमा फरक किसिमका प्रवृत्ति पनि देखाउने गर्छ । यसर्थ, आम लगानीकर्ताले सूचीकृत कम्पनीको गहन रुपमा विश्लेषण गर्न आवश्यक हुन्छ । कम्पनीहरुको समग्र वित्तीय अवस्था अध्ययन गरी लगानी गर्न सकेमा भविष्यमा राम्रै लाभ लिन सकिने सम्भावना रहन्छ ।

सेयर बजारका लगानीकर्ताका लागि अर्को महत्वपूर्ण पक्ष धैर्यता पनि हो । अलि लामो समय होल्ड गर्ने हिसाबले लगानी गर्न सके दिनहुँ हुने उतारचढावबाट त्यति धेरै प्रताडित हुनुपर्दैन । पुँजी बजारको दिगो सुधारका लागि बैंक ब्याजदर घट्नुपर्छ । अधिक आपूर्तिको समस्या विस्तारै न्यूनीकरण हुँदै जानुपर्छ । लगानीकर्ताको आत्मविश्वास पनि सुधार हुन आवश्यक छ ।

चर्को ब्याजदर, अधिक आपूर्ति, लगानीकर्ताको नकारात्मक मानसिकता, तत्काल नाफा खोज्ने प्रवृत्ति लगायतका कारण सेयर बजारले सोचे अनुसार गति लिन नसकेको हो । नेप्से सूचक सोमबार १.३४ अंकले बढेर ११२८.८६ विन्दुमा आइपुगेको छ । बजार ०.१२% ले सुधार भएको हो ।



१६६ कम्पनीको २० करोड २७ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको हो । ६ लाख ८७ हजार ३३६ कित्ता सेयर खरिदबिक्री भएका छन् । कुल १० वटा समूहको सेयर कारोबार भएकामा बैंकिङ र उत्पादनमूलक बाहेक बाँकी सबै समूहका सूचक माथि लागेका छन् । जीवन बिमा समूह सबैभन्दा धेरै २४.४२ अंकले बढेको छ । यता, बैंकिङ समूह भने १.४८ अंकले तल झरेको छ । 
 
कारोबार रकममा अपर तामाकोशीले अग्रता लिएको छ । अपरको १ करोड ४० लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको हो । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः एनसीसी बैंक र एनएमबि बैंक परेका छन् । 
 
               कारोबार रकमका आधारमा प्रमुख १० कम्पनी 

 

Post Your Comment