Market Closed

अब सेयर खरिदबिक्रीको पैसा खाताबाटै राफसाफ हुने, अनलाइन प्रणालीमा ५० बैंक जोडिए

23 May,2019
  • Screenshot_from_2019-05-23_20-42-03_5_23_2019_8_42_26.png
इशारा कोइराला
 
काठमाडौं : अब सेयर किनबेचपछि राफसाफका लागि चेक बोकेर ब्रोकर कार्यालय जानु नपर्ने भएको छ । ‘बैंक इन्टिग्रेसन’ सुरु भएसँगै लगानीकर्ता चेक बोकेर ब्रोकर कम्पनी जानु नपर्ने भएको हो । बिहीबारदेखि नेप्सेको अनलाइन ट्रेडिङ सिस्टम (नट्स) प्रणालीमा ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु आवद्ध भएका छन् ।
 
नेपाल क्लियरिङ हाउस र ब्रोकर कम्पनीहरुको आपसी पहलमा उक्त ‘बैंक इन्टिग्रेसन’ सञ्चालनमा आएको छ । बिहीबारको कारोबारपछि ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु अनलाइन कारोबार प्रणालीमा जोडिएको ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले जानकारी दिए । अब आइतबारदेखि सेयर खरिदबिक्रीपछि लगानीकर्ताको खाताबाटै राफसाफ हुने भएको छ । तर उक्त सुविधा लिनका लागि लगानीकर्ताले आफ्नो खाता भएको बैंकमा गएर ‘बैंक इन्टिग्रेसन’ मा आवद्ध गराउनु पर्छ ।
 
नेप्सेले कात्तिक २० गतेदेखि थालिएको अनलाइन प्रणालीमा यस अघि हाल सञ्चालनमा रहेका ४ वटा क्लियरिङ बैंक मात्र आवद्ध थिए । सेयर राफसाफको काम गर्ने नेपाल इन्भेष्टमेन्ट, ग्लोबल आइएमई, प्रभु र सिद्धार्थ बैंकबाट मात्रै अनलाइन राफसाफ हुन्थ्यो ।
 
अनलाइन प्रणालीमा ‘बैंक इन्टिग्रेसन’ पछि सेयर कारोबारको राफसाफ गर्दा न्यून शुल्क मात्र लाग्ने रानाभाटले बताए । उनले भने, ‘४ वटा क्लियरिङ बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट सेयर राफसाफ गर्दा शूल्क लाग्छ । तर क्लियरिङको लागि अत्यन्तै न्यून शुल्क मात्रै लाग्ने हो ।’ 
 
नेप्सेले मंसिर २३ गतेदेखि ब्रोकर मार्फत सेयर लगानीकर्तालाई अनलाइनको युजर नेम र पासवर्ड दिन सुरु गरेको थियो ।युजर नेम र पासवर्ड लिएका लगानीकर्ताले आफ्नो खाता भएको बैंकमा सम्पर्क गरी खाताबाटै राफासाफ गर्नसक्ने रानाभाटले बताएका छन् ।
 
 
अनलाइन कारोबार प्रणालीमा ६ हजार भन्दा बढी आवद्ध
 
नेप्सेले सञ्चालनमा ल्याएको अनलाइन कारोबार प्रणालीमा हालसम्म ६ हजार २ सय जना लगानीकर्ता अवद्ध भएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिएका छन् । नेप्सेका अनुसार अनलाइन मार्फत हालसम्म ११ अर्ब ३६ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 
 
उक्त कारोबारका लागि १ लाख २८ हजार २३८ खरीदविक्री आदेश भएको नेप्सेले जनाएको छ । यता, सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार हालसम्म १५ लाख २० हजार भन्दा बढी लगानीकर्ताले हितग्राही (डिम्याट) खाता खोलेका छन् । यता, नेप्सेले करीब २ लाख लगानीकर्ता मात्र दोस्रो बजारमा सक्रिय रहेको जनाएको छ । 
 
के हो बैंक इन्टिग्रेसन ?
 
दोस्रो बजारमा अनलाइन कारोबार प्रणाली मार्फत भएको कारोबारको राफसाफ फर्छ्योट प्रक्रियालाई बैंकिङ प्रणालीसँग आवद्ध गरिनुलाई बैंक इन्टिग्रेसन भनिन्छ । यस प्रणालीमा आवद्ध भएसँगै सेयर खरिदबिक्रीको पैसा खाताबाटै राफसाफ गर्न सकिन्छ । लगानीकर्ता भुक्तानीका लागि ब्रोकर कार्यालयसम्म पुग्नु पर्दैन ।

Post Your Comment