Market Closed

सेयर बजार सुस्त हुनुमा यस्ता छन् प्रमुख कारण, असार लागेपछि फेरि लिन्छ गति

12 Jun,2019
  • Bull_and_Bear_Markets_6_10_2019_3_22_46.jpg
नेपाली पैसा
 
काठमाडौं : सेयर बजार सुस्त हुने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । बजेटपछि बढेको भाउमा सेयर बिक्री गर्नेहरुले किन्न ढिलासुस्ती गरेपछि बजारले गति लिन नसकेको हो । कतिपय ठूला लगानीकर्ताले मौद्रिक नीति कस्तो आउँछ भनेर पनि हेरिरहेका छन् । बजेट र मौद्रिक नीतिका बीच समयमा विगत वर्षहरुमा पनि सेयर बजार केही सुस्त हुने गरेको थियो । यसपटक पनि सोही प्रवृत्ति देखिएको हो । यसबाहेक मसान्तको प्रभाव पनि बजारमा परेको हो । 
 
जेठ मसान्त नजिकिंदै गर्दा लगानीकर्तालाई कर्जाको साँवा र ब्याज तिर्ने चटारो हुन्छ । यसले पनि बजारमा केही चाप परेको विश्लेषण हुँदैछ । असार लागेपछि फेरि बजारले गति लिने अनुभवी लगानीकर्ताहरु बताउँछन् । यतिबेला बैंकिङ प्रणालीमा तरलता पनि त्यति सहज हुन सकेको छैन । यसको पनि केही प्रभाव सेयर बजारमा परेको विश्लेषण हुँदैछ । यी समस्याहरुका बाबजुत पनि अधिकांश कम्पनीको सेयर भाउ सस्तो भइसकेको छ । 
 
सस्तो भाउमा किन्न फेरि कारोबारी तथा दीर्घकालीन लगानीकर्ता उत्साहित हुने भएकाले बजारले पुनः गति लिने अपेक्षा गरिएको छ । सेयर बजारमा नीतिगत र कानुनी समस्या छैन । घटबढ बजारको सामान्य प्रवृत्ति हो । यसर्थ, घटेको बजार अब विस्तारै बढ्नेमा दुविधा लिनुपर्ने देखिंदैन । सेयर बजारको बुलिस प्रवृत्ति सुरु भएकाले पनि विस्तारै माथि लाग्ने विश्वास गर्न सकिन्छ ।
 

 
नेप्से सूचक बुधबार ३.५० अंकले घटेर १२७२.४८ विन्दुमा अडिएको छ । १७४ कम्पनीको ५० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १८ लाख ७१ हजार ८०९ कित्ता सेयर खरिदबिक्री भएका छन् । १२ समूहको कारोबार भएकामा ३ वटा समूहको सूचक हरियो देखिएको छ । व्यापारिक समूह ११.७ अंकले बढेको छ । निर्जीवन बिमा समूहको सूचक सबैभन्दा धेरै ६१.३४ अंकले तल झरेको छ ।
 
कारोबार रकममा ग्लोबल आइएमई संस्थापक सेयरको अग्रता छ । कारोबार रकममै दोस्रो र तेस्रो स्थानमा शिवम् सिमेन्ट्स र प्रभु बैंक परेका छन् । यस दिन साल्ट ट्रेडिङ लिमिटेडको सबैभन्दा धेरै १०% ले बढेको छ । धेरै गुमाउनेमा नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ता परेका छन् । यसको भाउ ७.०९% ले घटेको हो । 

Post Your Comment