Market Closed

नाफा र लाभांश दुवै बढ्दा सेयर भाउ निरन्तर घट्नुको के छ रहस्य ?

11 Sep,2019
  • bull_bedfd_9_11_2019_3_18_19.png
नेपाली पैसा 
 
काठमाडौं : लगानीकर्ताले लाभांशको मुख्यतयः आकर्षक आशमै सेयर बजारमा लगानी गरेका हुन्छन् । जसले आकर्षक लाभांश दिन्छ, त्यही कम्पनीमा अधिक आकर्षण हुने गर्छ । यही लाभांशकै लागि वर्षौंदेखि सेयर होल्ड गर्ने लगानीकर्ताहरु पनि हुन्छन् । तर यतिबेला हाम्रो सेयर बजारमा लाभांश मुखमै आइसकेको छ । धमाधम कम्पनीहरुले लाभांश घोषणा गरिरहेका छन् । केही वाणिज्य बैंकहरुले त दसैंअघि नै साधारण सभा समेत गर्दैछन् ।

यसको अर्थ, यतिबेला सेयरधनी हुनेहरुले अब तत्काल लाभांश हात पार्नेछन् भन्ने नै हो । तर लाभांशको सिजनमा पनि सेयर बजारमा चमक नआउँदा भने आम लगानीकर्ता अलमलमा परेका छन् । किन बढ्न सकेन बजार ? भन्ने धेरैको जिज्ञासा छ । आधारभूत हिसाबबाट औसतमा सूचीकृत कम्पनीहरुको अवस्था राम्रो छ । कम्पनीहरुको नाफा माथि जानु, लाभांश अनुपात वृद्धि हुनु सेयर बजारका लागि महत्वपूर्ण पक्ष हुन् । तर यससँगै लगानीकर्ताको मनोविज्ञान निकै महत्वपूर्ण हुन्छ, सेयर बजारमा ।

यतिबेला आम लगानीकर्ताको आत्मबल भने बलियो हुन सकेको छैन । सरकारका अस्पष्ट र दोधारे नीतिका कारण लगानीकर्ताको मनोविज्ञान कमजोर बनेको हो । यसका लागि सरकार तथा सम्बद्ध निकायले मनोविज्ञान सुधार गर्ने कार्यक्रम ल्याउन आवश्यक छ । सुधारका प्याकेज चाहिएको छ । यसबाट आम लगानीकर्ताको मनोभावना माथि जान सक्छ । जसको सकारात्मक प्रभाव सेयर बजारमा पर्नेछ । 
 
यद्दपि, ध्यान दिनुपर्ने महत्वपूर्ण पक्ष के हो भने धेरैको मनोबल कमजोर भएकै बेलामा बजारमा प्रवेश गरेर मनग्ये कमाउने सम्भावना बढी हुन्छ । भाउ सस्तो भएको छ । सस्तो भाउमा किन्दा नै लाभको सम्भावना अधिक रहन्छ । यसर्थ, लगानीकर्ताले आफ्नो अवस्था, क्षमतालाई समेत ध्यान दिंदै लगानी गर्न उचित हुन्छ ।

कम्पनीहरुको नाफा र लाभांश दुवै बढिरहेका बेला निरन्तर बजार भाउ घटिरहेकाले लगानीकर्ता सचेत हुन आवश्यक देखिन्छ । यस्तो मौकामा ठूला र संस्थागत लगानीकर्ताहरु कुनै पनि बेला रणनीतिक हिसाबले बजार प्रवेश गर्न सक्छन् । अनेक बाहनामा घटाउने चलखेलहरु पनि भएको हुन सक्छ भन्ने तर्फ लगानीकर्ताले सोच्न आवश्यक छ । 
 
नेप्से सूचक बुधबार ३.४६ अंकले घटेर ११६३.२१ विन्दुमा अडिएको छ । १७१ कम्पनीको ३४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १५ लाख ३ हजार ९२८ कित्ता सेयर खरिदबिक्री भएका छन् । १२ समूहको सेयर कारोबार भएकामा म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक तल झरेका छन् । सबैभन्दा धेरै निर्जीवन बिमा समूह ४९.०३ अंकले घटेको छ । वाणिज्य बैंक समूह पनि १.७५ अंकले तल झरेको छ ।

कारोबार रकममा सोल्टी होटेलले अग्रता लिएको छ । सोल्टीको ४ करोड ५५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो । सबैभन्दा धेरै घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले ४.४१% ले कमाएका छन् । अधिक गुमाउनेमा नबिल इक्विटी फन्डका इकाइधनी छन् । यसको भाउ ६.६९% ले तल झरेको छ । 

Post Your Comment