Market Closed

जीवन बिमा कम्पनीहरुको नाफामा आकर्षक बढोत्तरी, हेर्नुहोस् कसले कति कमाए ?

14 Feb,2020
  • Think-Profit_2_14_2020_7_34_42.jpg
इशारा कोइराला
 
काठमाडौं : चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा नेप्सेमा सूचीकृत जीवन बिमा कम्पनीहरुले समग्रमा १ अर्ब १६ करोड ६५ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत वर्षको यसैअवधिमा भन्दा ४७.२६% ले बढी हो । गत वर्ष जीवन बिमा कम्पनीले ७९ करोड २१ लाख ८२ हजार रुपैयाँ नाफा कमाएका थिए । दोस्रो त्रैमाससम्म आइपुग्दा जीवन बिमा कम्पनीहरुको नाफासँगै खुद बिमा शुल्कमा पनि औसतमा आकर्षक वृद्धि भएको छ । खुद बिमा शुल्क ३२.२३ % ले बढेर ३१ अर्ब ५६ करोड ७० लाख ३८ हजार रुपैयाँ पुगेको हो ।

खुद बिमा शुल्ककै आधारमा व्यवसाय विस्तार अवस्थाको मापन गर्न पनि सहज हुने गर्छ । यसबाहेक बिमा कोष, रिजर्भ लगायतका सूचकहरुलाई पनि ध्यान दिनुपर्ने हुन्छ । यता, यी कम्पनीहरुको जीवन बिमा कोष पनि ३१.१६% ले बढेको छ । जीवन बिमा कम्पनीहरुले आकर्षक वित्तीय विवरण सार्वजनिक गर्दा त्यसको सकारात्मक प्रभाव दोस्रो बजारको सेयर मूल्यमा पनि परिरहेको देख्न सकिन्छ ।

दोस्रो बजारमा लगानी गर्नुपूर्व आम लगानीकर्ताले कम्पनीहरुले त्रैमासिक रुपमा सार्वजनिक गर्ने वित्तीय विवरण र कम्पनीको व्यवस्थापन पक्ष लगायतका बारेमा पनि गहन अध्ययन गर्न आवश्यक हुन्छ । यहाँ हामीले सार्वजनिक वित्तीय विवरणलाई आधार मानेर नेप्सेमा सूचीकृत ७ जीवन बिमा कम्पनीहरुको तुलनात्मक अध्यन गरेका छौं : 
 
७ वटै कम्पनीको नाफा बढ्यो
 
यसअवधिमा सूचीकृत ७ वटै जीवन बिमा कम्पनीको नाफा बढेको छ । यी कम्पनीहरुले १ अर्ब १६ करोड ६५ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । सबैभन्दा धेरै नाफा कमाउनेमा नेपाल लाइफ इन्सुरेन्स रहेको छ । यसको नाफा २५.०८% ले बढेर ३५ करोड ९ लाख १७ हजार रुपैयाँ पुगेको छ ।



यसो त यसको चुक्ता पुँजी पनि धेरै छ । नाफासँगै चुक्ता पुँजीलाई पनि हेर्नुपर्ने हुन्छ । यता, सबैभन्दा धेरै नाफा बढाउनेमा भने एसियन लाइफ इन्सुरेन्स परेको छ । यसको नाफा ३१९.६६% ले बढेर १२ करोड १३ लाख ९७ हजार रुपैयाँ पुगेको छ । 
 
३१ अर्ब ५६ करोड खुद बिमा शुल्क आर्जन
 
पुस मसान्तसम्म आइपुग्दा सूचीकृत ७ जीवन बिमा कम्पनीहरुले ३१ अर्ब ५६ करोड ७० लाख ३८ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेका छन् । यो गत वर्षको तुलनामा ३२.२३% ले बढी हो । गत वर्ष यिनीहरुले २३ अर्ब ८७ करोड २८ लाख २१ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेका थिए । सबैभन्दा धेरै बिमा शुल्क बढाउनेमा सूर्या लाइफ इन्सुरेन्स रहेको छ ।



यसको खुद बिमा शुल्क ३४.९६% ले बढेर १ अर्ब २८ करोड ६६ लाख ९८ हजार रुपैयाँ रहेको छ । सबैभन्दा धेरै खुद बिमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्सुरेन्स परेको छ । यसको खुद बिमा शुल्क आर्जन १३ अर्ब ९१ करोड १० लाख ६३ हजार रुपैयाँ रहेको छ । 
 
जीवन बिमा कोष ३१.१६% ले बढ्यो
 
पुस मसान्तसम्म आइपुग्दा ७ जीवन बिमा कम्पनीहरुको जीवन बिमा केष २ खर्ब ११ अर्ब १८ करोड ६४ लाख ५६ हजार रुपैयाँ पुगेको छ । गत वर्षभन्दा जीवन बिमा कोष ३१.१६% ले बढी हो । गत वर्ष यसैअवधिमा कम्पनीहरुको जीवन बिमा कोष १ खर्ब ६१ अर्ब ८२ लाख रुपैयाँ रहेको थियो ।



१ वर्षको अवधिमा सबैभन्दा धेरै जीवन बिमा कोष बढाउनेमा सूर्या लाइफ इन्सुरेन्स रहेको छ । यसको जीवन बिमा कोषको आकार ४४.४३% ले बढेर ६ अर्ब २१ करोड ४९ लाख ४९ हजार रुपैयाँ पुगेको छ । यता, नेपाल लाइफ इन्सुरेन्सको जीवन बिमा कोष सबैभन्दा धेरै ७७ अर्ब ५९ करोड २९ लाख २७ हजार रुपैयाँ रहेको छ । 
 
७ वटै कम्पनीको चुक्ता पुँजी बढ्यो
 
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा हेर्दा ७ वटै जीवन बिमा कम्पनीको चुक्ता पुँजी बढेको छ । यसअवधिमा सबैभन्दा धेरै चुक्ता पुँजी बढाउनेमा सूर्या लाइफ इन्सुरेन्स रहेको छ ।



यसको पुँजी ९०.४०% ले बढेर २ अर्ब १५ करोड ५१ लाख ३८ हजार रुपैयाँ पुगेको छ । यता, नेपाल लाइफको चुक्ता पुँजी सबैभन्दा धेरै ५ अर्ब ४९ करोड ६१ लाख ६० हजार रुपैयाँ रहेको छ । 
 
५ कम्पनीको प्रतिसेयर आम्दानी बढ्यो
 
पुस मसान्तसम्म आइपुग्दा ५ जीवन बिमा कम्पनीको प्रतिसेयर आम्दानी बढेको छ । यता, सूर्या लाइफ र लाइफ इन्सुरेन्सको प्रतिसेयर आम्दानी भने घटेको छ । सबैभन्दा धेरै प्रतिसेयर आम्दानी बढाउनेमा एसियन लाइफ रहेको छ । यसको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३८ पैसाले बढेर १२ रुपैयाँ ०७ पैसमा आएको छ ।



यता, सबैभन्दा धेरै प्रतिसेयर आम्दानी गुराँस लाइफ इन्सुरेन्सको (वार्षिक) १५ रुपैयाँ ६७ पैसा रहेको छ । 
 
नोट : नेपाल लाइफ, एलआइसी नेपाल, सूर्या लाइफ लगायतले बिमांकीय मूल्यांकनपछिको नाफा नजोडिएको वित्तीय विवरणमा उल्लेख गरेका छन् । 
 

Post Your Comment