Market Closed

सेयर खरिदबिक्री रकममा अर्को रेकर्ड ब्रेक : नेप्से १८ सय विन्दु पार गरेर फर्कियो

22 Nov,2020
  • bullssa_11_22_2020_3_19_39.jpg
नेपाली पैसा 
 
काठमाडौं : सेयर खरिदबिक्री रकमले आइतबार फेरि अर्को नयाँ कीर्तिमान कायम गरेको छ । यसअघि बिहीबार हालसम्मकै धेरै रकमको सेयर कारोबार भएको थियो । सो रेकर्ड आइतबार फेरि तोडिएको छ । सर्वसाधारण लगानीकर्ता उत्साहित हुँदै जाँदा सेयर बजारमा कारोबारका नयाँ कीर्तिमानहरु बन्दै गएका छन् । आइतबार प्रतिमिनेट औसतमा २ करोड ८७ लाख ७८ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

वियरिस प्रवृत्तिमा दिनभरमा जम्मा २० करोडभन्दा कमको कारोबार भएको बजारमा अहिले प्रतिएक मिनेटमै २ करोड ८७ लाख ७८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुनुले बजारमा कतिसम्म उत्साह वृद्धि भएको छ भन्ने बुझ्न सकिन्छ । त्यतिमात्र होइन, नेप्से सूचकले आइतबार १८ सय विन्दुको मनोवैज्ञानिक रेखालाई पनि पार गरेर फर्किएको हो । अब नेप्से यसअघिको अधिकतम विन्दु १८८१ बाट निकै नजिक छ ।

बुलिस बजारले यसअघिको अधिकतम विन्दुलाई पनि निकट भविष्यमै पार गर्ने बजारमा लगानीकर्ताहरुले अनुमान लगाइरहेका छन् । आइतबार विशेषगरी बैंकिङ समूहमा तेजी आइरहेको छ । अरु सूचकहरुले दबाबको सामना गरे पनि बैंकिङमा भने वृद्धि देखिएको हो । खरिदबिक्रीमा अत्याधिक उत्साह देखिएकाले बजार क्रमशः बुलिस प्रवृत्तिमा अघि बढेको विश्लेषणहरु भइरहेका छन् ।

खरिदबिक्री प्रत्येक दिनजसो नयाँ रेकर्डहरु राख्दै जाने अनि नेप्से सूचक पनि क्रमशः वृद्धितर्फ अघि बढ्नुले दीर्घकालमा थप सुधारको अपेक्षा गरिएको हो । बेस्सरी बढेको बजारमा बीचबीचमा सानाठूला करेक्सनहरु आउनुलाई स्वभाविक मान्न सकिन्छ । तथापि, औसतमा भने सेयर बजारको गति माथितिर नै रहेको देखिन्छ । बैंकिङ प्रणालीमा प्रचुरमात्रामा लगानीयोग्य रकम हुनु, लगानीकर्ताले सेयर खरिद गर्न सस्तो ब्याजदरमा कर्जा पाउनुले पनि सेयर बजारलाई उत्साहित बनाइरहेको छ । 
 
सेयर कारोबार रकम, सेयर कित्ता अनि नेप्से सूचक सबैमा उत्साह देखिएको छ । बजारमा साना, ठूला, नयाँ अनि पुराना सबैथरिका लगानीकर्तामा जागरुकता बढेको देखिन्छ । लगानीकर्ताहरुले वित्तीय रुपमा सबल कम्पनीहरु छान्न सक्नुपर्छ । कम्पनीको समग्र अवस्था, व्यवस्थापन, लाभांश क्षमतालाई हेर्नुपर्छ । कम्पनीको भावी रणनीति, प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात लगायतका सूचकरुलाई ख्याल गर्दै योजनाबद्ध हिसाबले अघि बढ्न सकेमा बढी लाभ लिन सक्ने सम्भावना रहन्छ । 
 
नेप्से सूचक आइतबार ४.६९ अंकले बढेर १७८२.८१ विन्दुमा आइपुगेको छ । २०१ कम्पनीको ६ अर्ब ९० करोड ६७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १ करोड ६० लाख भन्दा बढी कित्ता सेयर खरिदबिक्री भएका छन् । कुल १२ समूहको कारोबार भएकामा ३ समूहका सूचक वृद्धि भएका छन् भने बाँकी समूह तल झरेका छन् ।



यसदिन सिटिजन्स म्युचुअल फन्ड २ का लगानीकर्ताले सबैभन्दा धेरै १०% का दरले कमाएका छन् । यता, माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताले सबैभन्दा धेरै ८.९३% का दरले गुमाएका छन् । खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा छ । यसको ५७ करोड ९१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा नेपाल लाइफ इन्सुरेन्स र तेस्रोमा नेपाल टेलिकम परेका छन् । 


 
 
 

Post Your Comment