नेपाली पैसा
काठमाडौं : अर्थतन्त्र विस्तारै चलायमान भएसँगै पछिल्लो केही साता यता कर्जा प्रवाह बढ्न थालेको छ । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार वाणिज्य बैंकहरुको कर्जा प्रवाह पछिल्लो एक सातामा १८ अर्ब रुपैयाँ बढेको छ । फागुन ७ गतेसम्म बैंकहरुले ३३ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । माघ ३० गतेसम्म बैंकहरुले ३३ खर्ब १७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । यो तथ्यांक हेर्दा पछिल्लो समय कर्जा प्रवाह विस्तारै बढ्दै गएको देखिन्छ ।
यता, एक महिनाको अवधिमा निक्षेप संकलन भने १३ अर्ब रुपैयाँले बढेको छ । संघको तथ्यांक अनुसार फागुन ७ गतेसम्ममा बैंकहरुले ३७ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । अघिल्लो साता (माघ ३० गतेसम्म) बैंकहरुले ३७ खर्ब ८४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए ।
रेमिट्यान्स आप्रवाह बढेसँगै बैंकहरुको निक्षेप संकलन पनि बढेको हो । नेपाल राष्ट्र बैंकको पुस मसान्तसम्मको तथ्यांकअनुसार रेमिट्यान्स आप्रवाह ११.१% ले बढेर ४ खर्ब ९५ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।